आइतवार, श्रावण २४ गते २०८३

प्रचण्ड, विद्या र शेखर मिलेर ओली सरकार ढाल्ने प्रयास, के सम्भव छ ?

आइतवार , श्रावण ४, २०८२

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी मिलेर सरकार ढाल्ने प्रयास गरिरहेको चर्चा हुन थालेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारीलाई जोगाउने मात्रै काम गरेकाले अब देशको हितका लागि यो सरकरलाई ढाल्नु पर्ने निष्कर्षमा प्रचण्ड, विद्या र शेखर पुगेका हुन् ? अहिले यो प्रश्न खडा भएको छ । 

गत बिहीबार शेखर कोइरालाले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका थिए । शेखरसँग खुमलटार पुगेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले उक्त भेटवारे खुलासा गरेका छन् । 

अमरेशकुमारले कांग्रेस एमाले गठबन्धन नेतृत्वको सरकार ढालेर कांग्रेस नेता कोइरालालाई प्रधानमन्त्री बनाउने गरी गृहकार्य भइरहेको दाबी गरे। उनले भने, ‘प्रचण्ड, शेखर कोइरालासहित विद्या भण्डारी, माधव नेपाल, उपेन्द्र यादवलगायतको सहभागिता रहन्छ। त्यसको लागि सबै सकारात्मक ढङ्गले वार्ता अघि बढेको छ।’

उक्त रणनीति अनुसार शेखर कोइरालाले  पूर्वराष्ट्रपति भण्डारीसँग पनि भेट गरे । कोइराला शुक्रबार बिहानै विद्या निवास पुगेका थिए । शेखरसँगको भेटमा भण्डारीले आफू सक्रिय राजनीतिमा आएको भन्दै सहयोगको अपेक्षा गरिन् ।

भण्डारीले भेटमा भनिन्, ‘म अब सक्रिय राजनीतिमा फर्किएको छु । तपाईं पनि देशको पक्षमा काम गर्न लागिपर्नुभएको छ । तपाईंले सहयोग गर्नुहुन्छ भन्ने आस राखेको छु ।’

भण्डारीसँगको भेटमा शेखरले आफू भ्रष्टाचारविरुद्ध लडिरहेको भन्दै देशमा सुशासन नभएको बताएका थिए । त्यसकारण विपक्षी नेताहरुसँग आफूले बनाएको योजनामा साथ दिन शेखरले भण्डारीसँग आग्रह गरे । शेखरको आग्रहलाई भण्डारीले पनि सकारात्मक रुपमा लिएको स्रोतको दावी छ । भण्डारले सुशासनको पक्षमा सधै आफ्नो साथ रहने बचन दिएकी छन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एमालेमा फर्किने बाटो नै बन्द गर्न खोजेपछि भण्डारी आक्रोशित बनेकी छन् । ओलीको प्रस्तावमा एमालेले भण्डारीलाई विधान महाधिवेशनमा आउन रोक लगाएको छ । ओलीप्रति आक्रोशित भण्डारीले शेखर र प्रचण्डलाई साथ दिने सम्भावना देखिन्छ ।

अब प्रचण्ड, शेखर र भण्डारीले विपक्षी सबै दललाई आफ्नो साथमा लिएर नयाँ सरकार बनाउन कसरत गर्ने चर्चा हुन थालेको छ । के यो प्रयास सम्भव छ ? यो प्रश्नको जवाफ समयले दिनेछ । तर, एमालेभित्रको एक तप्का ओलीप्रति निकै असन्तुष्ट छ । त्यस तप्काले ओलीलाई एमालेको अध्यक्षबाट जसरी भएपनि बाइपास गर्ने कसरत गरिरहेको छ । 

बिहीबार बसेको एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई विधान महाधिवेशनमा आउन रोक लगाउने निर्णय गरेपछि एमालेका कतिपय नेता रुष्ट बनेका छन् ।  त्यसकारण प्रचण्ड र शेखरले नयाँ सरकार बनाउनको लागि साथ माग्दा भण्डारीले समर्थन जनाए एमालेका केही सांसद उनीसँग आउने सम्भावना रहेको छ । त्यस्तै कांग्रेसका संस्थापन इतरपक्षका सांसदहरु पनि शेखरको आग्रहमा सहमत हुनसक्छन् । त्यसैले शेखरले सरकार ढाल्ने योजना बनाइरहेका छन् ।

तर, आइतबार प्रधानमन्त्री ओली र भण्डारीबीच भेटवार्ता भएपछि शेखरको योजना असफल हुने देखिन्छ । ओली र भण्डारीबीच एक घण्टा चालिस मिनेट वार्ता भएको छ । उनीहरुबीच के सहमति भयो खुलाइएको छैन । तर, भेटवार्तापछि ओली र भण्डारीको अनुहारमा निकै चमक देखिएको छ । त्यसकारण उनीहरुबीच सहमति भएको आँकलन गरिएको छ । यदि ओली र भण्डारीबीच सहमति भएको भए शेखरको सरकार ढाल्ने प्रयास सफल हुने छैन। 

प्रतिक्रिया
सम्बन्धित समाचार