आइतवार, श्रावण २४ गते २०८३

अब एमालेमा ओली र विद्यामध्ये एक मात्रै रहने, एक जना बाइपास हुने पक्का

मंगलवार , श्रावण ६, २०८२

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पार्टी केन्द्रीय कार्यालय च्यासलमा हँसिलो मुद्रामा भेटवार्ता भएपछि सतहमा देखिन थालेको विवाद मत्थर भएको अनुमान गरिएको थियो । तर, त्यसयता ओली र भण्डारीबीच झनै टकराब सुरु भएको छ । 

पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको नाममा अनावश्यक बयानबाजी गर्नेलाई कारवाही गर्ने धम्की दिएपछि भण्डारी आक्रोशित भएकी छिन् । ओलीले धम्की दिएपछि पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन नै गरेर चेतावनी दिएकी छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को सक्रिय राजनीतिमा अघि बढिसकेको र माझकिरातकी छोरी भएकोले खुट्टा नकमाउने चेतावनी दिएकी छन् ।  पूर्वराष्ट्रपतिले प्रष्ट रूपमा भनिन्, ‘म राजनीतिमा अघि बढेँ, माझकिरातको छोरी हुँ, खुट्टा कमाउँदिनँ।’

त्यस्तै उनले आफू राजनीतिमा लागेपछि ओली त्रसित भएको पनि बताइन् ।  ‘म राष्ट्रपति भइरहेका बेला पनि ओलीजीसँग कुराकानी हुँदा म सक्रिय राजनीतिमा फर्कने हो भनेर भन्थेँ, यो कुरा ओलीजीलाई राम्रोसँग थाहा थियो, उहाँले त्यसबेला भइहाल्छ भन्ने खालका कुरा गर्नुहुन्थ्यो । यसैबीच नयाँ वर्षमा शुभकामना दिएँ, त्यसले ओलीजी चिढिनुभयो, त्यसपछि असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मैले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि उहाँ झनै बिच्किनु भएको छ ।’

उनले २०८० सालमै एमालेको सदस्यता नवीकरण गरेको पनि बताइन्। २०७२ देखि २०८० सम्मको दस्तुर तिरेर आफूले एमालेको सदस्यता नवीकरण गरेको उनको दाबी थियो। ‘राष्ट्रपतिबाट हटेको ६ महिनाभित्रै मैले एमालेको सदस्यता नवीकरण गरेको थिएँ, त्यसबेला खासै बहसको विषय बनेन। सदस्यता नवीकरण गरेकोले म सक्रिय राजनीतिमा फर्कनु सामान्य विषय हो,’ उनले भनिन्।

त्यस्तै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता पेन्डिङमा रहेको बताएका थिए। यो कुरा सुनेपछि आफूले अध्यक्ष ओलीलाई फोन गरेको भण्डारीको भनाइ छ।

‘मेरो सदस्यता पेन्डिङमा छ भन्ने कुरा गरिएको रहेछ, त्यो पेन्डिङ भनेको के हो?’ भण्डारीले ओलीलाई फोनमा सोधेकी थिइन्। अध्यक्ष ओलीले यो राजनीतिक निर्णय गर्ने कुरा हो, बसेरै कुरा गरौंला भन्ने जबाफ दिएका थिए। 

त्यसपछि भेट्ने कुरा भएको उनले बताइन्। अध्यक्ष ओलीले बालुवाटार आउन भने पनि आफूले च्यासलमै भेटवार्ता गर्ने कुरा राखेपछि साउन ४ गते च्यासलमा भेटवार्ता भएको उनको भनाइ छ।

‘च्यासलमा भेट्ने भनेपछि उहाँले नै अपराह्न ३ बजेको समय दिनुभयो, धेरैबेर पर्खन नलगाउनुस् मेरो खुट्टा दुख्ने समस्या छ भनेको थिएँ, ३ बजे समय दिए पनि ४ बजे उहाँ आउनुभयो, त्यतिन्जेल एमालेका नेताहरूसँग कुराकानी गरेर बसेको थिएँ,’ उनले भनिन्।

च्यासलमा अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीति, कांग्रेससँगको समीकरणलगायत विषयमा कुराकानी भएको उनको भनाइ छ। तर अध्यक्ष ओलीले पार्टी सदस्यता राजनीतिक विषय भएको र यसमा पार्टीले निर्णय लिने बताएका थिए। 

‘तपाईं राष्ट्रपति भइसकेको मानिस हो, सम्मानित पदमा बसेकै राम्रो हुन्छ, बाहिर पनि टीकाटिप्पणी गर्छन्, अनेक प्रचार गर्छन्,’ अध्यक्ष ओलीको भनाइ थियो।

तर अध्यक्ष ओलीसँग आफूले सदस्यता नवीकरण भइसकेको र आफू सक्रिय राजनीतिमा अघि बढिसकेको कुरा राखेको पनि भण्डारीले बताइन्। ‘पार्टी सदस्यता नवीकरण भइसकेको छ, मेरा लागि योभन्दा ठूलो अर्को काम हुन सक्दैन,’ उनले अध्यक्ष ओलीलाई भनेकी थिइन्।

भण्डारीले ओलीमाथि टिप्पणी गरेको यो पहिलो पटक हो । ओलीमाथि भण्डारीले आक्रोश पोखेसँगै उनीहरुबीचको विवाद छताछुल्ल भइको छ । अब एमालेमा ओली र भण्डारी मध्ये एक जना मात्रै रहने चर्चा हुन थालेको छ । ओली र भण्डारीमध्ये एक जना एमालेबाट बाइपास हुने पक्का भएको छ । एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षका लागि भण्डारी लड्ने पक्कापक्की भएको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार