काठमाडौं। देश छाडेर भागेका अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले संयुक्त अरब इमिरेट्स (युएई)मा शरण लिएका छन्।
राष्ट्रपति घानीले गएको आइतबार देश छोडेका थिए।
युएईको विदेश मन्त्रालयले मानवीय नाताले घानी र उनको परिवारलाई स्वागत गरिएको बताएको छ। बुधबार भिडियो सन्देश जारी गरेर घानीले आफ्नो देश छोड्ने निर्णयको बचाउ गरेका छन्।
गम्भीर विपदको अवस्था आउन नदिएका लागि आफूले देश छोडेको उनले बताएका छन। उनले भनेका छन्, ‘अहिले म युएईमा छु र रक्तपात र अव्यवस्था रोकियो। अफगानिस्तान फर्किनका लागि म अहिले वार्तामा छु।’
उनले आफू ठूलो मात्रामा पैसा लिएर भागेको भन्ने हल्ला पूर्ण रुपमा आधारहीन रहेको पनि बताएका छन्। फेसबुकमा लाइभ गरिएको भिडियो सन्देशमा राष्ट्रपति घानीले आफूलाई सुरक्षा बलले राष्ट्रपति निवासबाट बाहिर जान सहयोग गरेको बताएका छन्। जुत्ता पनि लगाउन नभ्याएको उनले दाबी गरेका छन्।