आइतवार, श्रावण २४ गते २०८३

ओली सरकार ढाल्ने कसरत: रास्वपा र राप्रपाले साथ दिए हुनसक्छ उलटपुलट, यस्तो छ सांसद संख्या 

बुधवार , श्रावण ७, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला यतिबेला केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न लागिपरेका छन् ।  गत साता नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराष्ट्रपति विद्या भण्डारीसँग छलफल गरेर तरङ्ग सिर्जना गरेका कोइरालाले आइतबार आफूनिकट मन्त्री र सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरेपछि राजनीतिक वृत्र तातिएको छ ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र राजनीतिमा आएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटवार्ता भएपछि शेखरको सरकार ढाल्ने प्रयास असफल हुने आँकलन गरिएको थियो । तर, सोमबार मात्रै भण्डारीले आफ्नो कदमबाट कुनै पनि हालतमा पछि नहट्ने प्रष्ट पार्नु र नेकपा एमालेमा फर्किने बाटो बन्द गरिएपछि सरकार ढाल्ने खेलमा बल पुगेको छ । 

भण्डारीले आफू पछि नहट्ने भन्दै कार्यकर्तालाई आतंकित पार्ने काम रोकिनुपर्ने समेत प्रष्ट पारेकी छन् । नेकपा एमालेले भण्डारीलाई पार्टीमा फर्कने बाटो बन्द गरिदिएको छ । पार्टीले ठुलै झट्का दिएपछि भण्डारी यतिबेला आक्रोशित बनेकी छन् । अब उनी ओलीको विरुद्धमा कदम चाल्ने अनुमान गरिएको छ । 

ओली सरकारले भ्रष्टाचारीलाई जोगाउने काम गरेकाले नयाँ समिकरण बनाउने प्रस्ताव शेखरले विद्या समक्ष राखेका थिए । शेखरको प्रस्तावमा विद्याले पनि सुशासनको पक्षमा आफ्नो सधै साथ रहने बचन दिएकी छन् । अब ओली सरकार ढाल्नको लागि प्रचण्ड र शेखर सांसद संख्या जुटाउने कसरतमा लागेका छन् । 

संविधानको धारा ७६ को उपधारा ५ ले दिएको सुविधा अनुसार नयाँ प्रधानमन्त्री बन्न संसद्को बहुमत सदस्यको समर्थन जुटाउनुपर्ने हुन्छ । १३८ जना सांसद जुटाए नयाँ सरकार बन्छ ।  त्यसका लागि नेपाली कांग्रेसभित्र कोइराला समुहका ३१ जना, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १२, एकीकृत नेकपा समाजवादीका ९, जसपा नेपालका ५, नाउपाका ४ र २ जना स्वतन्त्र सांसद गरि जम्मा सांसद संख्या ११५ पुग्छ । अब नयाँ सरकार बनाउनको लागि २३ सांसदको आवश्यक पर्छ ।

विद्या भण्डारीले एमालेबाट २३ जना सांसद आफ्नो पक्षमा ल्याउन सके नयाँ सरकार बन्ने देखिन्छ । नेकपा एमालेको एक तप्का ओलीप्रति निकै असन्तुष्ट छ । यदि एमालेभित्र विद्याले विद्रोह गर्न चाहे केही सांसदहरु विद्याको पक्षमा आउने छन् । तर, फेरि नयाँ सरकार बनाउने विषयमा रास्वपा र राप्रपाले साथ दिए मात्र उक्त प्रयास सफल हुनेछ ।  नयाँ समिकरण बनाउने खेल भएपछि प्रधानमन्त्री ओली र देउवा भने झस्किएका छन् । 

एमाले बैठकमै शेखरको कदमलाई लिएर प्रधानमन्त्री ओलीमाथि नेताहरूले चासो राखेका थिए । पछिल्लो समय दलहरूको बढ्दो ध्रुवीकरण र भूराजनीतिक दबाबका साथै कांग्रेसभित्रको बढ्दो ध्रुवीकरणले राष्ट्रिय राजनीतिमा नै फेरबदल ल्याउने सङ्केत देखिएको छ ।

यद्यपि, शेखर कोइरालाको यो कदमले देउवाको एकछत्र राजमा दरार उत्पन्न गरेको छ र पार्टीभित्र भविष्यमा हुने नेतृत्व परिवर्तनको स्पष्ट सङ्केत दिएको छ । तत्काल परिणाम नआए पनि यसले कांग्रेसको आन्तरिक राजनीतिलाई भने लामो समयसम्म तरंगित बनाइरहने निश्चित छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार