काठमाडौँ । थाइल्यान्ड र कम्बोडियाको विवादित सीमा क्षेत्रमा बिहीबार भएको सशस्त्र झडपले लामो समयदेखि चलिरहेको तनावलाई अझ चर्काएको छ। यो समाचार तयार पर्दासम्म कम्बोडियाको हमलाबाट थाइल्याण्डमा १२ जनाको मृत्यु भएको छ।
बिहीबार बिहान सीमावर्ती क्षेत्रबाट सुरू भएको दुई देशबीचको तनाव अपराह्नसम्म तीव्र भएर एक अर्कामाथि हवाई हमला गरेका थिए। कम्बोडियाले थाइल्याण्डमा गरेको हमलाबाट १२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।
मृत्यु हुनेमा एक जना सैन्य अधिकारी पनि छन्। बाँकी मृतकहरू बालबालिका, किशोर किशोरी लगायतका नागरिक रहेका छन्।बिबिसीका अनुसार थाइल्याण्डको सुरिन प्रान्तमा २ जना नागरिक, उबोन रेचथानी प्रान्तमा एकजना र श्रीसाकेत प्रान्तमा ८ जनाको मृत्यु भएका छ। थप ३५ जना घाइते भएका छन्।
कम्बोडियाले रकेट प्रहार गरेपछि थाइल्याण्डले एफ १६ लडाकू विमान प्रयोग गरी कम्बोडियाली सैन्य अड्डामा हमला गरेको थियो। दिउँसोसमम उसले आक्रमण तीव्र बनाएको छ। यद्यपि कम्बोडियाले कति हताहती र भौतिक क्षति भयो भन्ने सार्वजनिक गरेको छैन। कम्बोडियाको हवाई हमलाबाट थाइल्याण्डको पेट्रोल पम्पमा क्षति पुगेको तस्बिर र समाचार सार्वजनिक भएका छन्।
सैन्य शक्तिको हिसाबले कम्बोडियाभन्दा थाइल्याण्ड तीन गुणा बढी शक्तिशाली रहेको भनेर पश्चिमा मिडियाहरूले लेखेका छन्। यद्यपि कम्बोडियाको विदेश मन्त्रालयले आक्रमणको जबाफ दिनुको विकल्प नरहेको भनेको छ।
दुई देशबीच तनाव उत्पन्न भएपछि चीन, मलेसिया लगायतका देशहरुले वार्तामार्फत विवाद समाधान गर्न आह्वान गरेका छन्। तर, थाइल्यान्ड र कम्बोडियाको यस विवादले भिषण युद्ध हुनसक्ने आँकलन गरिएको छ । थाइल्यान्ड र कम्बोडियाबीच लामो समय देखि सीमा विवादले द्धन्द्ध हुदैँ आएको छ ।
यस्तो छ झडप हुनुको कारण
यो भिडन्त मे महिनामा एक कम्बोडियाली सैनिकको हत्या पछि भएको दोस्रो ठूलो सशस्त्र घटना हो। पछिल्लो समय थाई सैनिकलाई लक्षित बारुदी सुरुङ विस्फोटपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध चिसिएको थियो। त्यसको केही घण्टामै स्थिति भड्किएको हो।
दुवै देशले आफूले आत्मरक्षामा प्रतिक्रिया दिएको दाबी गरेका छन्। थाइल्यान्डले सीमामा कडा प्रतिबन्धहरू लगाएको छ, जसले विद्यार्थी, बिरामी र अत्यावश्यक यात्रुहरूबाहेक सबैलाई प्रवेश निषेध गरेको छ। बिहीबार सीमालाई पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ।
यसैबीच कम्बोडियाले पनि थाई सञ्चार सामग्रीमाथि प्रतिबन्ध, थाई इन्धन, फलफूल र तरकारी आयातमा रोक, साथै केही इन्टरनेट र विद्युत सेवा बहिष्कार गरेको छ।
सीमा विवादको जरा
थाइल्यान्ड र कम्बोडियाबीचको सीमा विवाद दुई देशबीचको ८०० किलोमिटर लामो भूमि सीमामा फैलिएको छ। विवादको जरो मुख्यतः १९०७ मा फ्रान्सेली उपनिवेशकालमा बनाइएको नक्सामा आधारित छ। कम्बोडिया यसै नक्सालाई प्रमाण मान्दै आएको छ भने थाइल्यान्डले नक्सा त्रुटिपूर्ण भएको तर्क गर्दै आएको छ।
सबैभन्दा विवादास्पद क्षेत्र भनेको प्रेह विहार मन्दिर परिसर हो। सन् १९६२ मा अन्तर्राष्ट्रिय न्यायालयले मन्दिर क्षेत्रमा कम्बोडियाको सार्वभौमिकता घोषणा गरे पनि विवाद मिलेको छैन। सन् २०११ मा झडपपछिको मुद्दामा अदालतले २०१३ मा पुनः कम्बोडियाको पक्षमा फैसला सुनाएको थियो।
हाल कम्बोडियाले फेरि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लगेको छ तर थाइल्यान्डले अदालतको अधिकार अस्वीकार गरेको छ। सीमा विवादले दुबै देशमा राष्ट्रवादी भावना चर्काउँदै कूटनीतिक सम्वादलाई कठिन बनाएको छ। यदि संवादको ढोका खुला नराखिए स्थिति अझ गम्भीर हुने चेतावनी विश्लेषकहरूले दिइरहेका छन्।
सन् २०११ मा पनि दुवै देशका सेनाबीच ११औं शताब्दीको प्रेह विहार मन्दिर आसपास ठूलो सैन्य झडप भएको थियो। त्यो मन्दिर युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ। त्यतिबेला भएको भिडन्तमा करिब २० जनाको मृत्यु भएको थियो भने हजारौं मानिस विस्थापित भएका थिए।