काठमाडौं । पर्वतको जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ललाई पक्राउ गर्न अदालतले पर्वत प्रहरीलाई पत्र पठाएको छ । गत साउन ३१ गते कास्की जिल्ला अदालतलले पर्वत प्रहरीलाई मल्ललाई पक्राउ गरी अदालतमा दाखिला गर्न अनुरोध गरी पत्र पठाएको छ ।
मल्ललाई वादी ध्रुवबहादुर थापासँग लेनदेनको मुद्दामा ६ महिना कैद सजाय सुनाइएको छ । सोही अनुसार उनलाई पक्राउ गरी कैदमा राख्न जिल्ला कारागार कास्कीमा पठाइदिनु भनी आदेश भएकाले उनको खोजी भैरहेकोे पर्वतका प्रहरी प्रमुख शिवराज बुढाथोकीले जानकारी दिए ।
तर प्रतिवादी गाउँपालिका प्रमुख मल्लले भने घटनाबारे बोल्दै यसबारे आफूले अहिलेसम्म कसैलाई एक रुपैयाँ पनि नठगेको बताएका छन् । उनले २०६८ सालमा राजेश बोहराले फोर्स गाडी निकाल्दा जमानी बसिदिएको र बोहराले पैसा तिर्न नसकेपछि आफैँले तिरिदिएको बताए ।
किनेको मान्छेले तिर्न नसकेपछि कानुनअनुसार जमानी बसेको मान्छेले तिर्नुपर्ने प्रावधान अनुसार आफुले पैसा तिरिरहेको बताए । उनका अनुसार धनी नबिल बैंक पोखरा शाखा रहेको र ध्रुव थापा प्रोप्राइटर रहेको हिमालयन इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालि भन्ने रहेको छ । बा २ ख ३२८४ नम्बरको फोर्स माइक्रो गाडी राजेश बोहराको नाममा ऋणी थियो, जुन हिमालयन अटोले गाडी पनि लगेर त्यहीँ राखेको बताए ।
यो बारेमा बल्ल थाहा पाएपछि मैले सबै पैसा दिएको उनको दावी छ । उनले यो घटनालाई जोडेर राजनितिक रुपमा विफल पार्न खोजेको आरोज लगाएका छन् । नेपाली कांग्रेस पर्वतको कोषाध्यक्षसमेत रहेका मल्लले आगामी १४ औँ अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार हुने बताउँदै आएका छन् ।
जिल्ला सभापतिमा लड्ने कुरा गरिरहेको र बलियो दाबेदार समेत रहेकाले आफूलाई यसबाट विफल पार्न यो अदालती प्रक्रिया अपनाइएको मल्लको तर्क छ ।