मंगलवार, आश्विन १३ गते २०८३

सिराहातर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १ को मृत्यु, १४ घाइते

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । खोटाङमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

हलेसी मन्दिर दर्शन गरेर सिराहातर्फ जाँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौंठेखोला नजिकै सोमबार बिहान करिब ८ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनाका ज्यान गुमाउने मृतक र घाइते सबैको पहिचान खुल्न बाँकी छ । दुर्घटनाका घाइतेलाई उद्धार गरेर उपचारका लागि एम्बुलेन्समार्फत घुर्मीतर्फ पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिएका छन् । दुर्घटनाका घाइतेमध्ये ६ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने भएकाले नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रवक्ता गिरीले बताएका छन् ।

घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचारत आठ जनाको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । माइक्रोबसमा १६ जना यात्रु सवार रहेको खुलेको छ । दुर्घटनास्थलमा खटिएका प्रहरी र स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनास्थलमा बुट्यान र झाडी भएकाले ठूलो सङ्ख्यामा मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी छ । विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा लागेको ‘बोलबम’ मेला भरेर फर्किएका दर्शनार्थी दुर्घटनामा परेका हुन् ।

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम लाग्ने गर्दछ । महिना दिनसम्म लाग्ने बोलबम मेला भर्नका लागि दर्शनार्थीले निजी तथा भाडाका गाडी रिजर्भ गरेर ल्याउने गरेका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार