काठमाडौँ । भनिन्छ छ, परिश्रम गरेपछि एक न एक दिन अवश्य फल मिल्छ । एमएमए फाइटर रवीन्द्र ढाँटलाई पनि परिश्रमको फल मिलेको छ । ‘बझाङको बाघ’ उपनामले परिचित रवीन्द्र गरिब परिवारका सदस्य हुन् ।
कुनै समय उनलाई अण्डा खान २० रुपया समेत हुने नगरेको रवीन्द्रले नै बताएका छन् । २०७१ सालमा एसएलसी दिएपछि मजदुरी गर्न भारत गएका रवीन्द्रले हार मानेन् । भारतमा नौकरी गर्नुका साथै आफ्नो लक्ष्यलाई पनि निरन्तरता दिए । कठोर परिश्रमपछि उनले भारतमा भएको ‘म्याट्रिक्स फाइटर नाइट’ को उपाधि हात पारे । त्यसपछि भने उनको जिवनशैली नै फेरिएको छ ।
रविन्द्रलाई अहिले सबै नेपालीले साथ दिइरहेका छन् । यसैबीच काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले रवीन्द्र ढाँटलाई २ लाख नगद सहित सम्मान गरेका छन् । भने , सरकारले उनलाई पाँच लाख दिने भएको छ । मन्त्रीपरिषद्को बैठकले रवीन्दलाई पाँच लाख दिने निर्णय गरेको हो । आर्थिक अवस्था नाजुक भएका रविन्द्रलाई यस सहयोगले ठुलो राहत मिल्नेछ ।
यसभन्दा अघि राष्ट्रपति रामचन्द्र पौडेलले रवीन्द्रलाई शितल निवास बोलाएर अपमान गरेको भन्दै चर्को आलोचना भएको थियो । सामाजिक सञ्जालमा राष्ट्रपतिले चिया दिएर सम्मान गरे, अनि बालेनले दुई लाख नगत सहित सम्मान गरेको भन्दै तस्बीर भाइरल भइरहेको छ ।
रवीन्द्र लाई राष्ट्रपतिले अपमान गरेको विषय के हो ?
भारतीय फाइटर चुनरेङ कोरेनलाई रामधुलाई गर्दै उपाधि जितेपछि रविन्द्र लोकप्रीय बने । समाजिक सञ्जालमा जतात्यतै छाएका रवीन्द्रसँग राष्ट्रपति रामचन्द्र पौडेललाई पनि फोटो खिच्न मन लाग्यो ।
राष्ट्रपति पौडेलले बोलाएपछि रवीन्द्र पनि खुसी हुदै शितल निवास पुगे । तर, रविन्द्र त्यहाबाट फर्किदा मन खिन्न बनाएर फर्किए । यसको खुलासा भ्लगर सिसन बानियाँले गरेका हुन् । रवीन्द्रलाई राष्ट्रपति कार्यालयमा दिइएको सम्मानप्रति भ्लगर सिसन बानियाँले प्रश्न उठाए ।
बानियाले भनेका छन्, ‘इमानदारीपूर्वक भन्दा, च्याम्पियनलाई कुनै सम्मान महसुस भएन । ५ मिनेटको भाषण हानेर, फोटो खिचाएर टाप । हामीलाई चिया बिस्कुट खान भनेर छोडियो । त्यो कुरूप हलमा ढाँटले एक कप चिया खायो । २० मिनेट सबैसँग सिङ्गल फोटो खिच्यो । के त्यसरी देशको च्याम्पियनलाई सम्मान गरिन्छ ? मेरो केटाले धेरै मेहनत गरेको छ । यदि च्याम्पियनबाट केही पब्लिसिटी चाहिन्छ भने हिरोलाई आर्थिक रूपले पनि सम्मान गर ।’ भ्लगर सिसनले प्रश्न उठाएपछि राष्ट्रपति पौडेलले रवीन्द्रको अपमान गरेको भन्दै चर्को आलोचना भएको थियो ।
रवीन्द्रको व्यापक चर्चा हुनुको कारण
हुन त खेलाडीले उपाधि जितेपछि लोकप्रीय बन्नु स्वभाविक नै हो । तर, रवीन्द्रको व्यापक चर्चा हुनुको एउटा अर्को कारण पनि छ । भारतको नोएडामा खेल सुरु हुनुभन्दा अगाडि भारतीय खेलाडी कोरेनले रवीन्द्रलाई कमजोर मात्रै ठानेनन् हेपेर पनि बोले । रविन्द्रलाई बच्चासमेत भन्न भ्याए ।
कोरेनले तेस्रो राउण्डमै रवीन्द्रलाई पराजित गरेर उपाधि जित्ने दाबी गरेका थिए । खेल सुरु भएपछि ठिक उल्टो भइदियो । रवीन्द्रले कोरेनलाई तेस्रो राउण्डमा एक किक हानेर उपाधि हात पारे । कोरेन उठ्नै नसकेपछि रवीन्द्रले उपाधि जित्दै नेपालीको शिर उचो बनाउन सफल भए ।
जसले नेपालीलाई हेप्छ उसको हालत कोरेनको जस्तै हुन्छ भन्दै सामाजिक सञ्जालमा रवीन्द्रको निकै प्रशंसा भयो । खैर, कठोर परिश्रमपछि रवीन्द्रले सफलताको शिखरमा छन् ।