काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले सामाजिक अभियन्ता भनिएकाहरुको काममा राज्यले निगरानी गर्नुपर्ने बताएका छन् । शुक्रबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बस्नेतले अभियन्ताका नाममा निजी कम्पनीका व्यक्तिहरु तथा अन्य व्यक्तिहरुले अनेक खालका कार्यक्रमहरु गरिरहेको र त्यसमा राज्यको निगरानी नभएको उल्लेख गरे ।
उनले त्यसरी सामाजिक अभियन्ता भनिएका व्यक्तिहरुले गरिरहेका काममा राज्यको निगरानी नहुँदा कामको औपचारिकता, कानुनी हैसियत र व्यवस्थित नभएको भन्दै यसलाई गृह मन्त्रालयले निगरानी गरी व्यवस्थित गर्नुपर्ने धारणा राखे ।
उनले भने– ‘कसैले अस्पताल बनाइरहेको छ, कसैले खेल मैदान बनाइरहेको छ, कसैले बस्ती बसाइरहेको छ । त्यहाँ कति पैसा उठिरहेको छ, कति खर्च भइरहेको छ पारदर्शिता छैन् ।
कहिले अभियन्ताको नामबाट सडक प्रदर्शन भइरहेको छ । यो विषयमा स्वयं अभियन्ताको बीचमा झगडा परेपछि फलानो ठाउँबाट आएको पैसा खोइ भनेपछि मात्रै राज्यले थाहा पाउने स्थिति बनेको छ । यो विषयमा राज्यले निगरानी गर्ने एउटा पद्धति बनाउनुपर्छ ।’
उनले अभियन्ताहरुले काम गर्न चाहन्छन् भने राज्यको निकायमार्फत वा प्रमुख जिल्ला अधिकारीमार्फत एउटा खाता खोलेर आएको पैसादेखि सबै काम गर्ने कुरालाई पद्धति बसाल्नुपर्नेमा जोड दिए । यसबारे सम्बन्धित निकायका पदाधिकारी बोलाएर छलफल गर्न पनि उनले समिति सभापति शशी श्रेष्ठलाई आग्रह गरे ।
हाल नेपालमा सामाजिक अभियन्ता भनिएका व्यक्तिहरुको पहलमा रंगशाला देखी एकिकृत निर्माणका कामहरु भैरहेका छन्, तर त्यसको राज्यले निगरानी नगर्दा वेला वेलामा अनियमितताको कुरा उठ्ने गरेको छ ।