आइतवार, श्रावण २४ गते २०८३

मुखमा टेप लगाएर ‘हामी बोल्न जन्मिएका हौँ’ भन्ने रामकुमारीले मागिन् माफी, यस्तो छ कारण  

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले माफी मागेकी छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा मुद्दा दायर भएपछि उनलाई ‘बोकेर हिँड्न सकिँदैन’ भन्ने अभिव्यक्ति दिएपछि माधव नेपाल आक्रोशित बनेका थिए ।

यदि रामकुमारीले माफी नमागे उनलाई पार्टीबाट बाइपास गर्ने सम्मको तयारी भइरहेको थियो । तर, झाँक्रीले आगामी दिनमा पार्टी हितविपरीत अभिव्यक्ति नदिने वाचासहित पार्टीलाई पत्र पठाएकी हुन् । 

पतञ्जलि योगपीठको जग्गा घोटाला मुद्दा लागेपछि झाँक्रीले आफ्ना अध्यक्ष नेपालविरुद्ध गत असार १४ गते लुम्बिनीमा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा कडा अभिव्यक्ति दिएकी थिइन्। उनले पार्टीमा ‘ठूलो संकट आएको र अब अध्यक्ष फेर्नुपर्ने’ बताउँदै ‘मरेको सिनु बोकेर हिँड्न नसकिने’समेत भनेकी थिइन्।  यसमा पार्टीको अनुशासन आयोगले झाँक्र्रीलाई स्पष्टीकरण सोधेपछि उनले माफी मागेकी हुन् ।  

अब यीनै रामकुमारीको विगतबारे चर्चा गरौँ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७, पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा आलोचना गरेकी नेतृ झाँक्रीले लोकतन्त्रमा बोल्न पाउनुपर्ने भन्दै आमसभामा कालो टेप मुखमा टाँसेर विरोध गरेकी थिइन्।

त्यसपछि माघ २८ गते तत्कालीन नेकपा नेतृ झाँक्रीले भृकुटीमण्डपमा आयोजना गरिएको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुखमा टेप लगाएर स्टेजमा गएकी थिइन्। अनि टेप खोल्नुअघि ‘प्रतिगमन मुर्दावाद’ लेखिएको कपडा शरीरबाट झिकेर फालेर भाषण गरेकी थिइन्। मुखमा मास्क लगाएर स्टेजमा पुगेकी झाँक्रीले भाषण गर्नुअघि मास्क झिकेर फालेकी थिइन्।

त्यसपछि उनको मुखमा लगाएको टेप देखिएको थियो। मुखमा लगाएको टेप उप्काएर फाल्दै उनले भनेकी थिइन्, ‘बोल्न पाइन्छ, हामी बोल्न जन्मिएका हौँ।’ 

ओलीको विरुद्धमा आफ्नो साहस देखाएकी झाँक्री माधव नेपालसँग भने माफी माग्न बाध्य भइन । पार्टीबाट निष्कासन हुने डरमा झाँक्रीले माफी मागेकी हुन् । पछिल्लो समय पार्टी अध्यक्ष माधव नेपालसँग झाँक्रीको सम्बन्ध चिसिएको छ । पार्टीभित्र झाँक्री जम्मेवारी विहिन जस्तै बनेकी छन् । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार