काठमाडौँ । पछिल्लो समय राजनीतिक ‘कमब्याक’का लागि सक्रिय भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रविको पक्षमा उभिएकी छन् ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रविको विपक्षमा उभिदा भण्डारी भने रविको पक्षमा उभिएकी हुन् । मंगलबार रास्वपाका प्रवक्तासमेत रहेका सांसद मनीष झासँग विद्याले भंगालस्थित आफ्नै निवासमा भेट गरेर आफू रविको पक्षमा उभिएको बताएकी हुन् ।
भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक अभ्यासबारे आफू जानकार भएको बताउँदै सभापति रवि लामिछानेलाई राज्यले दुस्ख दिने काम गरिरहेको भन्दै दुखेसो पोखिन् ।
‘नयाँ पुस्ताको राजनीतिको अभ्यास जुन भइराखेको छ, त्यसप्रति मेरो सद्भाव छ, उच्च आदर छ भनेर भन्नुभयो । सहकारीको समस्या समाधान गर्नुपर्ने विषय तर, यसलाई राजनीतिक मुद्दा बनाएर रवि लामिछानेजीलाई दुख दिने काम भइराखेको छ, त्यसप्रति मेरो असन्तुष्टि छ र रविजीप्रति मेरो सद्भाव छ ’, भण्डारीले झासँगको भेटवार्तामा भनिन् ।
समाधान छोडेर रवि लामिछानेलाई थुन्ने काम गरेकोप्रति भण्डारीले सरकारसँग गुनासो गरेकी छन् । ‘समस्या समाधानतिर जानुपर्ने तर, राज्य मुद्दा बनाएर नागरिकलाई दुखदिनतिर गयो। दसैँ तिहार आउँदैछ मान्छेलाई पैसा खाँचो पर्छ तर, सहकारीले पैसा दिने अवस्था छैन। एकवर्षदेखि मान्छे थुन्ने मुद्दा लगाउने मात्र र्गयो त्यसमा पनि रविजीमाथि समान व्यवहार गरिराखेको छैन । त्यही मुद्दामा कसैलाई चिया खुवाएर पठाइदिने, कसैलाई थुन्ने, कसैलाई रकम फिर्ता गरिदेऊ भनेर अवसर पनि दिने कसैलाई फिर्ता गर्छुभन्दा पनि नदिने जुन असमान कानुनी व्यवहार भइराखेको छ यो राम्रो भइराखेको छैन, त्यसले कालान्तरमा राम्रो गर्दैन।’, भण्डारीले भनिन् ।
यता प्रधानमन्त्री ओलीले भने रवि सहकारी ठग भएको खुलेआम भन्ने गरेका छन् । तर, पूर्वराष्ट्रपति भण्डारी भने रविको पक्षमा खुल्दा रास्वपामा उत्साह छाएको छ । लामिछाने बुटवलको सुप्रिम सहकारीका बचतकर्ताको रकम अपचलनको मुद्दामा ललितपुरस्थित नक्खु कारागारमा छन्। उनीमाथि विभिन्न ५ सहकारीको रकम अपचलन गरेको मुद्दा छ। सभापति लामिछानेमाथि राज्यले अन्याय गरेको भन्दै रास्वपाले देशभर हस्ताक्षर अभियान चलाइरहेको छ ।