मंगलवार, आश्विन १३ गते २०८३

‘फेसबुक कन्टेन्ट मनिटाइजेसन’का लागि नेपाल पनि योग्य

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको कन्टेन्ट मनिटाइजेसनका लागि नेपाल पनि योग्य भएको छ ।

फेसबुकले कन्टेन्ट मनिटाइजेसन एडहरु उपलब्ध भएको देश र क्षेत्रमा नेपाललाई पनि समावेश गरेको हो । यसको अर्थ फेसबुकमा पोस्ट हुने पब्लिक भिडिओ र रिलहरुबाट पैसा कमाउन सकिनेछ। यसअघि नेपाल यो सूचीमा परेको थिएन् । फेसबुकले निश्चित देश र भाषामा प्रकाशित कन्टेन्टलाई यो सूचीमा राख्ने गर्छ । यद्यपि धेरै भाषाका भिडिओहरु भने मनिटाइजेसनका लागि योग्य नहुन पनि सक्ने फेसबुकले जनाएको छ ।

फेसबुकका अनुसार भिडिओ र रिल खोल्दा आउने विज्ञापनहरु र पर्फमेन्स बोनस प्रोग्रम भने अगस्ट ३१ देखि सकिएको छ । त्यो सकिएसँगै फेसबुकले क्रिएटरहरुलाई फेसबुक कन्टेन्ट मनिटाइजेसन प्रोग्राममा सहभागी गराउनलागेको हो । नेपालसमेत रहेको कन्टेन्ट मनिटाइजेसन योग्य रहेको देशहरुको सूचीमा ७० वटा देश रहेका छन् ।

फेसबुकका अनुसार कन्टेन्ट मनिटाइजेसनमार्फत सहजै पैसा कमाउन सकिनेछ । यसअघिका सबै प्रोग्रामहरुलाई मर्ज गरेर फेसबुकले नयाँ कार्यक्रम ल्याएको हो । अबदेखि रिल, फोटो, टेक्स्ट पोस्ट र स्टोरीहरु मनिटाइज गर्न सकिनेछ । फेसबुकले १० लाख क्रिएटरहरुलाई बेटामा जोडिन इन्भाइट गरिसकेको छ भने आगामी महिनाहरुमा अझ धेरैलाई इन्भाइट गर्ने उल्लेख गरेको छ ।

यो प्रोग्राममा सहभागी हुन क्रिएटरहरुले प्रोफेसनल ड्यासबोर्डमा जानुपर्छ । त्यहाँ गइसकेपछि मनिटाइजेसन ट्याब खोजेर ‘कन्टेन्ट मनिटाइजेसन’मा क्लिक गर्नुपर्छ । त्यसपछि यसको पहुँच पाइनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार