काठमाडौँ । जेनजी आन्दोलनका अभियान्ता सुदन गुरुङ र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ । शुक्रबार शितलनिवासमा गुरुङ र थापाबीच भेटवार्ता भएको हो ।
आज संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा शुभकामना आदानप्रदान तथा चियापान समारोह गरे। समारोहमा पूर्वराष्ट्रपतिहरू, पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका नेता, विभिन्न देशका राजदूत तथा कूटनीतिकज्ञहरू, नागरिक अगुवालगायत उपस्थित थिए।
त्यस्तै उक्त समारोहमा हामी नेपाल नामक गैरसरकारी संस्थाका सुदन गुरुङ पनि सहभािग भएका थिए । उनी भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि चर्चामा आएका हुन्। यहीक्रममा गुरुङले नेपाली कांग्रेसका महामन्त्री गनगकुमार थापासँग भेटवार्ता गरेका छन् । थापा र गुरुङबीच शीतलनिवासकै प्रांगणमा ४ मिनेटजति कुराकानी भएको हो ।
गुरुङले कुराकानीमा अहिलेकै जेनजी आन्दोलनपछि प्राप्त उपलब्धी रक्षाका लागि सहयोग गर्न आफूले आग्रह गरेको बताएका छन् ।
‘४ मिनेट कुरा भयो। त्यस्तो केही त भएन मैले नै उहाँलाई जेनजीको आन्दोलनले धेरैको जनधनको क्षति पनि भयो केही उपलब्धीहरू दिँदैछ यसको रक्षा गर्न सहयोग गर्नुस् भनेँ। पुरानै पाराले भएन अब हुँदैन भनेँ,’ आफूले थापासँग भनेको बताए।
थापाले पनि आफूले यस आन्दोलन र जेनजीको उपस्थितिलाई नजिकबाट हेरिरहेको र पार्टीमा पनि सोहीअनुसार परिवर्तन गर्न लागिपरेको बताएको गुरुङको भनाइ छ।
‘उहाँ (थापा)ले जेनजीको आन्दोलन र त्यसपछिको परिवेशलाई नियाली रहेको भन्नुभयो,’ उनले थपे, ‘पार्टी (कांग्रेस)भित्र पनि जेनजीको माग सम्बोधन हुने र जेनजीकै शैलीअनुसार अघि बढ्न आफूले काम सुरु गरिरहेको भन्नुभयो।’
उनले थापाले जेनजीको माग र आन्दोलनबारे पूरा जानकारी राखेको र चासो पनि राखेकोबारे आफू खुसी भएको पनि जारकारी दिएका छन् ।