काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ पदलोलुप नभएको तर अहिलै नै जिम्मेवारीबाट नपन्छिने बताएका छन् ।
बिहीबार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै राष्ट्र, पार्टी र क्रान्तिका लागि अन्तिमसम्म लडिरहने बताएका छन् । प्रचण्डले भने, ‘यो जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको छैन, तर पदलोलुपता मेरो नेचर हैन, त्यसैले अहिले पनि म हुनै पर्ने भन्ने छैन् । राष्ट्र, क्रान्ति, र पार्टीको लागि अन्तिमसम्म लडिरहने प्रतिज्ञा गर्छु ।’
उनले नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रियाबारे न्यूनतम बुझाई कायम गर्न जरुरी रहेको बताएका छन् । प्रचण्डले राजीनामा दिनुपर्ने भन्दै पार्टीका महासचिव जनार्दन शर्माले पछिल्लो समय दववा बढाउँदै आएका थिए ।
त्यसलाई काउन्टर दिँदै प्रचण्डले असोज ५ गते बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।
आजको केन्द्रीय समितिबाट उक्त प्रस्तावलाई अनुमोदन गर्दै प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने तयारी रहेको छ ।