काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधान अनुसार नभइ बलमिच्याँइले बनेको दाबी गरेका छन् ।
भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले शर्त राखेर मात्रै वर्तमान सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएको बताएका छन् । अध्यक्ष ओलीले भने, ‘अहिले देशको परिस्थिति असाधारण, असामान्य रहेको छ । किनभने देशमा सरकार छ, संविधान अनुसार बनेको छैन । बलमिच्याइँले बनेको सरकार छ, अहिलेको प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो ।’
संसद् भंग नभए देशमा जेनजीले आगो बाल्छ भनेर चेतावनी दिएको समेत उनको भनाइ थियो । उनले भने, ‘संसद् तुरुन्तै शपथ गरेर तुरुन्तै संसद् भंग गर्ने सिफारिस गर्छु । त्यो सिफारिस लागू गर्नुपर्छ, संसद् भंग गर्ने भए मात्रै प्रधानमन्त्री हुन्छु, नत्र देशमा जेनजीले आगो बाल्छ ।’ उनले पूर्व न्यायाधीश, प्रधानन्यायाधीश भएको व्यक्ति कुनै पनि सरकारी पदमा बस्न नमिल्ने बताएका छन् ।
उनले भने, ‘संसद् भंग गर्ने पूर्वशर्त राखेर सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य, लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो । उहाँलाई राम्ररी थाहा छ, नेपालको संविधानको उहाँ व्याख्या गरेर आउनुभएको व्यक्ति हो ।’ उनले प्रधानमन्त्री हुनकै लागि कार्की २४ गते दिउँसो नै सडकमा उत्रिएको बताएका छन् ।
अध्यक्ष ओलीले भने, ‘के के व्याख्या गर्नुभयो छाडिदिउँ । तर, नेपालको संविधानले प्रष्ट भन्छ, पूर्व न्यायाधीश, प्रधानन्यायाधीश भएको व्यक्ति कुनै पनि सरकारी पदमा बस्नै सक्दैन, प्रधानमन्त्रीमा त कुरै छाडिदिउ तर, उहाँ सुरिनुभयो ।’
उनले थपेका छन्, ‘सुरिनका लागि उहाँ २३ गते जेनजी भनेर सडकमा उत्रनुभयो । २४ गते सडकमा उत्रनुभयो र के कामका लागि उत्रनुभयो ?’