काठमाडौं । नवगठित एकीकृत समाजवादी पार्टीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने भएको छ । एमालेबाट विभाजन भई माधव नेपालको नेतृत्वमा नयाँ दलले औपचारिकता पाएपछि एकीकृत समाजवादीलाई सरकारमा जाने बाटो खुलेको हो ।
त्यसलगत्तै आज भएको सत्तारुढ गठबन्धनबीचको छलफलमा मन्त्रालयको भागबण्डा मिलेको छ । माधव नेपाललाई स्थान दिँदा काँग्रेसले ३, माओवादीले २ र जसपाले १ मन्त्री गुमाउनुपर्नेछ । माधव नेपाल समूहले नयाँ पार्टी बनाएर सरकारमा सहभागी हुने भएपछि विगतमा काँग्रेस, माओवादी र जसपाबीच भएको भागबण्डामा हेरफेर भएको छ ।
नेपाल पक्ष सरकारमा सहभागी नभएको अवस्थामा काँग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्री र १ राज्य मन्त्री पाउने सहमति भएको थियो । यस्तै माओवादीले सात मन्त्री र एक राज्यमन्त्री तथा जसपाले ६ मन्त्री र एक राज्यमन्त्री पाउने गठबन्धनमा सहमति जुटेको थियो ।
२५ सदस्यीय मन्त्रीमण्डलमा नयाँ सहमति अनुसार काँग्रेसबाट प्रधानमन्त्रीसहित ७ जना सरकारमा सहभागी हुने अवस्था छ । यस्तै माओवादी, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ राज्यमन्त्री पाउने सहमति भएको जनाइएको छ ।
सत्तारुढ गठबन्धनभित्र मन्त्रालयको भागवन्डा मिलेपनि मन्त्रिपरिषद् विस्तार भने जसपाका कारण भदौ १३ पछि मात्रै हुने भएको छ ।