बिहिवार, आश्विन १५ गते २०८३

अफगानिस्तानमा रक्तपात: काबुलमा मारिए ६० जना, अमेरिकाले दियो कडा चेतावनी!

शुक्रवार , भाद्र ११, २०७८

काठमाडौं। अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमास्थलमा दुईवटा बम विस्फोट भएको छ।

उक्त घटनामा मारिनेको संख्या ६० पुगेको छ । घटनामा १४० भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन्। घटनापछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादी संगठन आईएसआईएसको खुरासनले हमला गरेको जनाएको छ।

विस्फोटमा ११ अमेरिकी मरिन र एक नेभीका स्वास्थ्यकर्मी रहेका छन्। सन् २०११ यता अफगानिस्तानमा अमेरिकी सेनामाथि भएको सबैभन्दा ठूलो हमला हो। सन् २०११ को अगस्तमा टांगी उपत्यकामा अमेरिकी सेना चढेको हेलिकप्टरलाई तालिवानले खसाल्दा ६० जना सैनिकको मृत्यु भएको थियो ।

पश्चिमा सरकारले विमानस्थलमा इस्लामिक स्टेटको अफगानिस्तान ब्रान्च आईएस–केले हमला गर्न सक्ने चेतावनी आफ्ना नागरिक जारी गरेको केही घण्टापछि नै विमानस्थलमा विस्फोट भएको थियो।

पेन्टागनका अनुसार एयरपोर्ट बाहिर तीन सन्दिग्ध देखिएका थिए। यिनमा दुईजना आत्मघाती आक्रमणकारी थिए। अर्का व्यक्ति भने बन्दुक बोकेर आएका थिए। तालिबानले यसलाई आतंकवादी हमला भनेको छ।

स्थानीय समअनुसार साँझ ६ बजे विमानस्थलसँगै रहेको बारोन होटलको नजिकै पहिलो विस्फोट भएको थियो। उक्त होटलमा बेलायती अधिकारीहरुले बेलायत जान चाहने अफगानीहरुको कागजी प्रक्रियाका लागि प्रयोग गरिरहेका थिए।

त्यसलगत्तै गोलीबारी शुरु भएको थियो भने विमानस्थलको मुख्य द्वारमध्ये एक एबे गेट नजिकै दोस्रो विस्फोट भएको थियो। यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल घटनाका दोषीमाथि बदला लिने चेतावनी दिएका छन्।

‘हामी माफी दिने छैनौ। हामी बिर्सने छैनौँ। हामी तिमीहरुलाई खोजेर यसको मूल्य चुकाउन लगाउने छौँ,’ उनले भने। उनले यस्ता आतंकवादी हमलाबाट अमेरिका विचलित नहुने र उद्धारको कामलाई जारी राख्ने पनि स्पष्ट पारे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार