काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को महत्त्वपूर्ण एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्ससामु जितका लागि ११२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले निर्धारित १९.१ ओभरमा अलआउट हुँदै १११ रन मात्र बनाउन सफल भएको छ । काठमाडौंको सुरुवात निकै खराब रहेको थियो । लुम्बिनीका बलरहरू हावी हुँदा काठमाडौंले १० ओभरमै ५१ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो ।
सुरुवाती ब्याटरहरू आकाश त्रिपाठी, सन्नी पटेल, मिलिन्द कुमार र बेन चार्ल्सवर्थ सस्तैमा समेटिएका थिए । सुरुवाती झड्कापछि भिम सार्की र जोन सिम्पसनले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर, १०औं ओभरमा कप्तान रोहित पौडेलले दुवैलाई आउट गराउँदै काठमाडौंलाई पुनः दबाबमा राखे । सिम्पसनले १८ रन र भिम सार्कीले १४ रन बनाए ।
तल्लो क्रममा आएका सन्तोष यादव र मोहमद आदिल आलमले आक्रामक ब्याटिङ गर्दै टिमको स्कोर १०० कटाइ दिए । काठमाडौंका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । यस्तै आदिल आलमले ११ बलमा २ छक्का र १ चौकासहित १८ रन जोडेका थिए ।
कप्तान करण केसीले ९ रन बनाएका थिए । काठमाडौंलाई सस्तैमा समेट्न लुम्बिनी लायन्सका बलरहरूले सन्तुलित र आक्रामक प्रदर्शन गरे । यो खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर विराटनगर विरुद्ध खेल्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
लुम्बिनी लायन्सले केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ ।