आइतवार, श्रावण २४ गते २०८३

एनपीएल : काठमामाडौँ बाहिरियो, लुम्बिनी दोस्रो क्वालिफायरमा, फाइनल प्रवेशका लागि बिहीबार विराटनगरसँग भिड्ने

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएल सिजन–२ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो ।

काठमाडौंले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ३३ रन बनाए । दीनेश अधिकारी ४, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा २३, निरोशन डिक्वेला १४ र दिलिप नाथ ७ रनमा आउट भए । जेजे स्मिथ ० र रुवेन ट्रम्पलम्यान ५ रनमा अविजित रहे । बलिङमा काठमाडौंका सन्तोष यादवले दुई, सन्नी पटेल, शाहव आलम, कप्तान करण केसी र रसिद खानले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९ ओभर एक बलमा १११ रनमा अलआउट भएको थियो । काठमाडौंका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । जोन सिम्पसन र मोहम्मद आदिल आलम १८–१८, वेन चाल्र्सवर्थ ४, आकाश त्रिपाठी १, सन्नी पटेल ७, मिलिन्द कुमार २, भीम सार्की १४, कप्तान करण केसी ९ र रसिद खान २ रनमा आउट भए ।

शाहव आलम ४ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ तथा रुवेन ट्रम्पलम्यानले दुई र अभिषेश गौतमले एक विकेट लिए ।

लुम्बिनीले अब फाइनल प्रवेशका लागि विराटनगर किंग्सको सामना गर्नेछ । उक्त खेल बिहीबार दिउँसो ४ बजे हुनेछ । उक्त खेलको विजेताले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार