आइतवार, श्रावण २४ गते २०८३

लुम्बिनीले विराटनगरसामु १३५ रनको मध्यम लक्ष्य प्रस्तुत गर्यो

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत फाइनल प्रवेशका लागि भइरहेको निर्णायक दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई जितका लागि १३५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनको योगफल तयार पारेको हो । लुम्बिनीको सुरुवात सुखद रहेन । टोलीले ८ रनको स्कोरमै ओपनर दिनेश अधिकारीलाई १ रनमा गुमाएको थियो । तर, त्यसपछि क्रिजमा आएका कप्तान रोहित पौडेल र ओपनर डी आर्सी सर्टले दोस्रो विकेटका लागि ६९ रनको बलियो साझेदारी गर्दै टोलीलाई खेलमा फर्काएका थिए ।

११.२ ओभरमा कप्तान रोहित पौडेल ३४ रन बनाएर सुवास भण्डारीको बलमा आउट भएपछि लुम्बिनीको ब्याटिङ लाइन धर्मरायो । सर्वाधिक रन बनाएका डी आर्सी सर्टले ४१ बलमा ३ चौका र १ छक्कासहित ४५ रन जोडे । मध्यक्रममा निरोशन डिकवेलाले २२ बलमा ४ चौका प्रहार गर्दै २९ रन बनाए पनि अन्य ब्याटरहरू चल्न सकेनन् ।

सन्दीप जोरा (०), जेजे स्मित (०) र दिलिप नाथ (१) सस्तैमा पेभेलियन फर्किएपछि लुम्बिनीले ठूलो स्कोर बनाउन सकेन । अन्त्यमा रुबेन ट्रम्पेलम्यानले अविजित ११ रन बनाए । लुम्बिनीलाई मध्यम स्कोरमा रोक्न विराटनगर किङ्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे ।

विशेषगरी, सुवास भण्डारीले कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए । उनले लुम्बिनीको शीर्ष र मध्यक्रम भत्काउन मुख्य भूमिका खेले । यस्तै, प्रतिस जिसीले पनि ४ ओभरमा २७ रन दिएर ३ विकेट हात पारे । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चिदै २ विकेट लिए ।

मर्चन्ट डे लांगे भने आज केही महँगो सावित भए, उनले ४ ओभरमा ३७ रन दिए पनि कुनै विकेट लिन सकेनन् । अब फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भिड्नका लागि विराटनगर किङ्सले २० ओभरमा १३५ रन बनाउनुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार