आइतवार, श्रावण २४ गते २०८३

महिला विश्वकप ग्लोबल छनोटमा फेरि पराजित भयो नेपाल

बिहिवार , माघ ८, २०८२

काठमाडौँ ।  आईसीसी महिला विश्वकप ग्लोबल छनोटमा लगातार दोस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीमो सुपर सिक्स पुग्ने सम्भावना कमजोर बनेको छ। 

एक समय जित नजिक पुगेको नेपाली टोली नेदरल्यान्ड्सँग २ रनले पराजित भएको छ। लगातार तेस्रो जितसँगै नेदरल्यान्ड्स सुपर सिक्समा पुगेको छ।

नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको बलियो लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३८ रन मात्र बनाउन सक्यो।  नेपालका लागि रुविना क्षेत्री ३७ र सीता रानामगर २७ रनमा अविजित रहे। रुविनाले ३२ बलमा ५ चौका प्रहार गरिन्।

योसँगै रुविनाले टी–२० आइमा १ हजार रन पूरा गरेकी छिन्। रुविनाले ३३ रन बनाउँदा १ हजार रन पूरा गरिन्। नेपालबाट टी–२० आइमा १ हजार रन पूरा गर्ने रुविना दोस्रो खेलाडी हुन्। 

एक समय १६.२ ओभरमा ७–९३ को स्थितिमा थियो। तर आठौँ विकेटका लागि रुविना र सीताले ४५ रनको साझेदारी गरेपछि जितको आशा पलाएको थियो। अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा ११ रन मात्र बनाएपछि नेपाल जितनजिक पुगेर पनि टाढिएको हो।

बिन्दु रावलले १८ र सम्झना खड्काले १४ रन थपिन्। कविता जोशीले १३ रन बनाइन्। पुजा महतो ८ र इन्दु बर्मा ६ रनमा आउट भए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४० रनको योगफल तयार पारेको थियो। 

प्रतिक्रिया
सम्बन्धित समाचार