काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशमा मतदान सकिएको छ । प्रदेश सभातर्फ ८९ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २२९ जनाले मतदान गरेका छन् ।
बागमती प्रदेश सभामा हाल १०४ जना सांसद छन् । प्रतिनिधि सभा निर्वाचनमा भाग लिन बागमती प्रदेशका ६ जना सांसदले राजीनामा दिएका थिए । राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, हाम्रो नेपाली पार्टीको २ र नेपाली कम्युनिस्ट पार्टीका एक सांसद सहभागी भएनन् ।
स्थानीय तहतर्फ २३४ मतदाता रहेकोमा २२९ जनाले मतदान गरेका हुन् । तीन वटा नगरका मेयरले प्रतिनिधि सभामा भाग लिन राजीनामा दिएका छन् भने एक नगरप्रमुख निलम्बनमा परेका छन् ।
यी बाहेक स्थानीय तहतर्फ दिनेश अधिकारी (दुधौली नगरपालिका), रमेश नापित (शङ्खरापुर नगरपालिका), अप्सरा लम्साल (हेलम्बु गाउँपालिका), मुना अधिकारी (गोदावरी नगरपालिका) र सञ्जीव ओली (बिगु गाउँपालिका) मतदान गर्न उपस्थित नभएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाबीच प्रतिस्पर्धा छ । नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । जहाँ, एमालेका प्रेम दंगाल मैदानमा छन् भने महिला क्लस्टरबाट कांग्रेसकी गीता देवकोटा उम्मेदवार छिन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट बागमती प्रदेशमा अन्यतर्फ प्रेम सापकोटा र महिला क्लस्टरमा सरोज कुमारी झा र नेपाल मजदुर किसान पाटी (नेमकिपा) का विक्रम ढुकुछु र महिला क्लस्टरमा कविता महर्जनबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।
केही बेरमा मतगणना सुरु हुनेछ ।