काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह सार्वजनिक बहसमा जान्न भन्नु लोकतान्त्रिक चरित्र नभएको बताएका छन् ।
राज्यको नेतृत्वको दाबी गर्नेहरूले प्रश्न र संवादबाट भाग्न नपाउने तर्क उनको रहेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्रीका दाबेदार मानिएका एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाका बालेन्द्र शाहबिच सार्वजनिक बहस हुनुपर्ने आवाज उठिरहेको छ ।
यसमा अध्यक्ष ओली सहमत भए पनि शाह तयार देखिएनन् । उता सभापति थापा भने मौन रहेका छन् । महासचिव पोखरेल लेखेका छन्, ‘लोकतान्त्रिक राजनीति नीतिहरूको संवाद र छनोट हो । नीति–संवादबाट भाग्नु र जनसम्पर्कबाट टाढा रहनु कुनै पनि हालतमा सही होइन ।’
उनले अगाडि लेखेका छन्, ‘राज्यको नेतृत्वको दाबी गर्नेहरूले त झन् प्रश्न र संवादबाट भाग्न पाउँदैनन् । त्यसमाथि भाद्र २३ र २४ मा भएको उत्तेजना र कुकर्मको भारी अरूको काँधमा थोपर्ने प्रवृत्ति अझै हानिकारक छ । प्रतिसोध र पूर्वाग्रह लोकतान्त्रिक चरित्र होइन–हुनै सक्दैन ।’