काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सर्लाही जानुअघि नेपाली कांग्रेसका सभापति गगन थापाले भिडिओ सन्देशमार्फत काठमाडौं–४ का मतदातालाई धन्यवाद दिएका छन् ।
आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि थापाले सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् । यसअघि उनी काठमाडौं–४ बाट प्रतिस्पर्धा गर्दै आएका थिए । वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थापा सोमबार सर्लाही गएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसार गर्ने कार्यक्रम रहेको छ । सर्लाही जानुअघि उनले काठमाडौं छोडेर मधेस झर्नुको कारण सुनाएका छन् ।
भिडिओ सन्देशमा थापाले भनेका छन्, ‘म मधेस जाँदै छु, किनकि म देश जोड्न चाहन्छु ।’ पछिल्लो तीन निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित भएका थापाले भनेका छन्, ‘मैले परिवारको जस्तो माया यो क्षेत्रमा सधै पाएँ ।’ कांग्रेसका नेता तथा कार्यकर्ताले पनि काठमाडौं नछोड्न सल्लाह दिएको उनले खुलाएका छन् । तथापि, देश जोड्नका लागि मधेस झर्ने निर्णय गरेको उनको भनाइ छ ।
थापाले भनेका छन्, ‘मधेससँगको सम्बन्ध प्रगाढ बनाउनुपर्ने भन्ने मेरो तिव्र इच्छा भयो र आवश्यक पनि थियो, पहाडबाट झरेको मेरो परिवार, काठमाडौंमा हुर्केको म सिंगो देशको हुनुपर्छ, त्यसका लागि मैले एक पटक मधेसको माटो ढोग्नुपर्छ, टेक्नुपर्छ, आशीर्वाद लिनुपर्छ, त्यससँग जोडिनुपर्छ, त्यहीभित्र लडिबुडी गर्नुपर्छ भन्ने सोच राखेर यो निर्णय गरेको हुँ ।’