बिहिवार, आश्विन १५ गते २०८३

नेपालगन्जमा बालेन्द्र साह हेर्न कार्यकर्ता र समर्थकको भिड

सोमवार , माघ १२, २०८२

काठमाडौं । झापाबाट फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह चुनावी प्रचार अभियानका क्रममा नेपालगञ्ज पुगेका छन् ।

नेपालगञ्ज विमानस्थलबाहिर उनलाई स्वागत गर्न पार्टी कार्यकर्ता र समर्थकको ठूलो भिड देखिएको थियो । विमानस्थलबाट रुफटप कारमा बाहिरिएका साहसँग सेल्फी खिच्न समर्थकहरू उत्साहित देखिन्थे भने उनलाई हेर्न स्थानीय बासिन्दा छतछतमा उभिएका थिए । विमानस्थलमै उनलाई स्वागत गर्न पार्टीका केन्द्रीय सदस्य खगेन्द्र सुनार पनि उपस्थित थिए ।

नेपालगञ्जबाट साह सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम रहेको छ । सुदूरपश्चिमबाट साहनिकट दुई व्यक्तिले उम्मेदवारी दिएका छन् । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र कोर टिमका सदस्य केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका छन् ।

यी दुई निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर साह सुदूरपश्चिम जाने तयारीमा रहेको बुझिएको छ । सुदूरपश्चिममा केही दिन बिताएपछि साह काठमाडौं फर्किनेछन् ।

त्यसपछि उनले काठमाडौं र ललितपुरका केही निर्वाचन क्षेत्रमा पनि चुनावी अभियानमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार