काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै जाँदा सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार जिल्ला पुगेका छन् ।
पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका थापा चुनावी अभियानलाई तीव्रता दिन काठमाडौंबाट सिमरा विमानस्थल हुँदै सर्लाही पुगेका हुन् । सभापति थापालाई जिल्ला प्रवेश गर्ने नाका पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहटको सीमामा पर्ने वाग्मती कर्मैयामा पार्टीका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए । थापाले अब केही दिन निर्वाचन क्षेत्रमै बिताउने योजना बनाएका छन् ।
यस क्रममा उनले पार्टीका स्थानीय नेता–कार्यकर्ताहरूसँग रणनीतिक छलफल गर्नुका साथै मतदाताहरूसँग प्रत्यक्ष भेटघाट र घरदैलो अभियानलाई निरन्तरता दिने कार्यक्रम तय भएको छ । सर्लाही–४ को चुनावी प्रतिस्पर्धा यसपटक निकै रोचक र पेचिलो हुने देखिएको छ । यहाँ कांग्रेस सभापति थापाको मुख्य प्रतिस्पर्धा यसै क्षेत्रबाट तीनपटक निर्वाचित भइसकेका र हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका प्रभावशाली नेता अमरेशकुमार सिंहसँग हुने आंकलन गरिएको छ ।
त्यस्तै, चुनावी मैदानमा नेकपा (एमाले) का युवा नेता अभनिशकुमार यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालका अनुभवी नेता रामेश्वर राय यादव, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रजनीस राय र जनमत पार्टीका राकेशकुमार मिश्रलगायतका उम्मेदवारहरू पनि आ–आफ्नो पक्षमा नतिजा पार्न सक्रिय छन् ।