बिहिवार, आश्विन १५ गते २०८३

गगनको प्रश्न– पहिले मधेसका शिक्षक पहाड गएर पढाउँथे, अहिले विद्यार्थी किन कमजोर भए ?

सोमवार , माघ १२, २०८२

काठमाडौं । चुनावी प्रचारका लागि सर्लाही पुगेका नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसमा गणित, विज्ञानमा विद्यार्थी कमजोर भएको उल्लेख गर्दै यसको समाधान खोज्ने बताएका छन् ।

सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा मतदाता भेटघाट कार्यक्रममा बोल्दै थापाले मधेसमा गणित, विज्ञान र अंग्रेजी सुधार्नुपर्ने बताएका छन् । उनले मधेसको इतिहास कोट्याए । उनले भने, ‘कुनै वेला मधेसको मान्छे नगईकन पहाड, हिमालमा गणित, विज्ञानको कक्षा चल्दैनथ्यो ।’ अबको केही दशक नेपालको आम्दानीको प्रमुख स्रोत सूचना प्रविधि हुने बताएका छन् । त्यसका लागि  गणित, विज्ञान राम्रो हुनुपर्ने उनको भनाइ थियो ।

थापाले भने, ‘अबको १२–१५ वर्ष नेपालको आम्दानीको ठूलो स्रोत भनेको सूचना प्रविधि हो । सूचना प्रविधिका लागि केटाकेटी वेलादेखि नै गणित जान्नुपर्छ, विज्ञान जान्नुपर्छ, मेरा बाहरूलाई सोलुखुम्बुको पहाडमा गएर सप्तरीको गणित शिक्षकले गणित पढाउनुभयो र मेरो बा इन्जिनियर बन्नसक्नु भयो । त्यो इतिहास भएको मधेसमा आज गणित, विज्ञान र अंग्रेजमा सबैभन्दा कमजोर मधेसका विद्यार्थी भएको अवस्था छ, हिजो मैले यो प्रश्न संसद्मा उठाए, आज यसको उत्तर खोज्न आएको हुँ । उत्तर पनि खोज्छु, समाधान पनि दिन्छु ।’

यसका लागि आफ्नो टिमले काम गरिरहेको उनले बताए । केही दिनदेखि शिक्षा र स्वास्थ्यबारे आफ्नो टिमले काम गरिरहेको र आगामी पाँच वर्षमा समाधान दिने उनको भनाइ थियो । केही वर्षअघि हुलाकीको राजमार्गको यात्रा गर्दा नै मधेस आउने मन बनाएको उनले सुनाए । उनले भने, ‘केही वर्षअघि हुलाकी राजमार्गको यात्रा गर्दा मधेस आउँछु, यहाँका साथीहरूको प्रतिनिधित्व गर्छु भन्ने मनमा लागेको हो ।’

त्यतिवेला आफ्नो मनमा केही प्रश्न उठेको बताए । थापाले भने, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा यत्रो योगदान पुर्‍याएको, यति धेरै सहिद भएको, प्रत्येक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गरेको मधेसले सिंगो नेपालभित्र जुन मान, सम्मान प्राप्न गर्नुपर्ने हो, किन नपाएको होलारु त्यो प्रश्न मैले धेरै पटक उठाए ।’

उनले थपे, ‘तर म प्रश्न उठाउने गरी होइन, त्यसको उत्तर खोज्ने गरी तपाईको प्रतिनिधि बन्न यहाँ आएको छु ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार