प्रधानमन्त्री कार्कीसँगै भौतिकपूर्वाधारमन्त्री माधव चौलाई, परराष्ट्रमन्त्री बालानन्द शर्मा, नेपाली सेनाको प्रमुख अशोक सिग्देल लगायतले पनि द्रुतमार्गको निरीक्षण गरेका छन्।
सरकारले काठमाडौँ–तराईरमधेश द्रुत मार्ग (फास्ट ट्र्याक)लाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर निर्माण गरिरहेको छ। यस राजमार्गको निर्माण नेपाली सेनाले गरेको हो।
ललितपुरको खोकनाबाट बाराको निजगढसम्म यसको दुरी ७०.९७ किलोमिटर छ। यस राजमार्गमा अहिलेसम्म विशेष प्रकृतिका १३ वटा पुल निर्माण भइसकेका छन्। कतिपय पुल ८२ मिटरसम्म उचाइका छन्।
आयोजनाका विभिन्न खण्डमा करिब १३ किलोमिटर लम्बाइका कुल ८९ वटा पुल निर्माण गर्ने तयारी छ। राजमार्गको ३३.६२ प्रतिशत खण्डमा पुल र सुरुङ निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ।
सबै पुलको कुल लम्बाइ १२.८८५ किलोमिटर छ। यस आयोजनाको काठमाडौँतर्फबाट प्रस्थानविन्दुका रूपमा रहेको खोकनामा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण त्यहाँ निर्माण कार्य अघि बढ्न सकेको छैन। त्यस क्षेत्रमा निर्माण हुने चार वटा पुलको अहिलेसम्म ठेक्का प्रक्रियासमेत अगाडि बढेको छैन।
राजमार्गको कतिपय ठाउँमा सडक कालोपत्र गर्ने कामसमेत सुरु भइसकेको छ।