बिहिवार, आश्विन १५ गते २०८३

स्टन्ट गरेर घण्टी बजाएर मात्र हुनेवाला केही पनि छैन् : प्रचण्ड

मंगलवार , माघ १३, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले मुलुकमा घण्टी बजाएर र सामाजिक सञ्जालमा स्टन्ट गरेर जनतालाई झुक्याउने काम भइरहेको टिप्पणी गरेका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह ‘घण्टी’ र पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको लोकप्रियतावादप्रति लक्षित गर्दै दाहालले विचार र सिद्धान्त बिनाको स्टन्टबाजीले देशमा केही नहुने जिकिर गरेका छन् ।

उनले भने, ‘अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी परेको छ । सोसियल मिडियामा स्टन्टबाजी गरेको भरमा नै जनताको दिमाग चाट्ने जो काम भइराख्या छ, यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न (चिर्न) सकिन्छ ।’ मोहन वैद्य ‘किरण’ को प्रसङ्ग कोट्याउँदै उनले शास्त्रीय तरिकाले घण्टी बजाएर मात्र देश नबन्ने उदाहरण दिएका छन् । उनले भने, ‘किरणजीलाई म आदर गर्छु, तर बौद्ध भिक्षु रहेसम्म घण्टी बजाउने तरिकाले यो देशमा हुनेवाला केही पनि छैन् । घण्टी बजाएर मात्र हुनेवाला केही पनि छैन् ।’

संयोजक दाहालले सामाजिक सञ्जालको भ्रामक प्रचार र स्टन्टबाजीको भरमा राजनीति गर्ने प्रवृत्ति हावी भएको भन्दै त्यसलाई विचार र संगठनको बलमा परास्त गर्नुपर्नेमा जोड दिएका छन् । उनले मार्क्सवादलाई विज्ञानका रूपमा बुझ्नुपर्नेमा जोड दिँदै भावनामा बगेर गरिने राजनीति टिकाउ नहुने तर्क गरेका छन् ।

विभिन्न समूहबाट आएका युवाहरूलाई पार्टीमा स्वागत गर्दै उनले भने, ‘तपाईंहरूले देखिसक्नुभयो, घण्टी बजाएर र स्टन्ट गरेर देश बन्दैन । विचार, संगठन र योजनासहितको शक्तिले मात्र निकास दिन सक्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार