काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
मंगलबार पार्टीका अध्यक्ष हर्क साम्पाङले उनलाई पार्टीमा स्वागत गरेका हुन् । अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठको पार्टी प्रवेशबारे जानकारी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ । अब लागौं है त ।’ श्रेष्ठ यसअघि रास्वपाबाट समानुपातिक सांसद थिए । सांसद पदमा बहाल रहेकै बेला मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनी विवादमा आएका थिए ।
उक्त अडियोमा उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई पैसा बुझाउनुपर्ने भन्दै रकम माग गरेको सुनिएको थियो । अडियो प्रकरण बाहिरिएलगत्तै रास्वपाले उनलाई अनुशासनको कारबाही गर्दै पार्टीको साधारण सदस्य र सांसद पदबाट समेत निष्कासन गरेको थियो । विवादित छविका श्रेष्ठमाथि लागुऔषधसम्बन्धी कसुरमा पनि प्रहरी कारबाही भएको थियो ।
पोखरास्थित आफ्नै मेडिकलबाट प्रतिबन्धित औषधि ट्रामाडोल बिक्री गरेको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उक्त मुद्दामा उनी ७५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।