काठमाडौं । हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीको तर्फबाट भोजपुरबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका ध्रुवराज राईले भ्रष्टाचार उन्मूलन नै आफ्नो प्रमुख एजेण्डा भएको बताएका छन् ।
भोजपुरमा प्रतिनिधिसभाको एउटामात्रै निर्वाचन क्षेत्र रहेको छ । २०७४ सालमा टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष भएका उनी राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रहेका छन् । गाउँपालिका अध्यक्ष हुँदा गरेका राम्रा कामलाई गाउँवासीले मात्रै नभएर जिल्लावासीले अझै पनि सम्झिइरहेको उनले बताएका छन् । उनले श्रमबाट देश निर्माण गर्न सकिने भएकाले सबैलाई श्रमको अभियानमा लाग्न आग्रह गरेका छन् ।
उनले भने, ‘हाम्रा पार्टी अध्यक्ष हर्क साम्पाङले पनि आफं श्रम गरेर धरान उपमहानगरपालिकालाई उदाहरणीय बनाउनुभयो, हामी पनि श्रम गरेर नै देश बनाउँछौं, दलालको हातमा गएको अर्थतन्त्रलाई जोगाउन पनि माटोमा मतदान गर्नुपर्ने बेला भएको छ, देश बचाउने अयिभानमा कसैले पनि सहयोग गर्दिन भन्न मिल्दैन । अब हामीले स्वदेशी सरकार नै बनाएर नेपालको माटो जोगाउनु छ, विदेशीको इशारामा होइन स्वदेशी हावापानीमै चलेको सरकार बनाउनुपर्छ भन्ने हाम्रो लक्ष्य हो ।’ यो पार्टीको चुनाव चिन्ह माटो रहेको छ । उनले नेपाललाई जोगाउन सकेमात्रै नेपालको माटो पनि जोगिने बताए ।
उनले भने, ‘हाम्रो पार्टीको एजेण्डा नै सबैभन्दा उत्कृष्ट छ त्यसैले एकपटक माटोमा मतदान गरेर देश निर्माणमा सहयोग गरिदिनुहुन आग्रह गर्दछु, । भोजपुरलाई जनताको सुख दुःखमा कहिल्यै नभेटिने नेता होइन जनताको सेवक चाहिएको छ । दिनमा होस् वा मध्यरातमा हरेक जनताको फोन उठाउने छु । जनताको आँगनमा मात्रै होइन प्रहरी प्रशासन, सिंहदरवार, अस्पताल, अदालत जहाँ भोजपुरे जनतालाई संकट पर्छ, म त्यहीँ धुलोमाटो भएर उभिने छु । हरेक भोजपुरेले ‘तपाई यहाँ आउनुहोस्’ भन्नेबित्तिकै दगुरेर पुग्ने छु । संसदमा मात्रै होइन हरेक संकटमा साथ र आवाज बन्ने छु ।’
२०४७ सालदेखि नै सक्रिय राजनीति गर्दै आएका उनले नेकपा एमालेमा धेरै वर्ष राजनीति गरेका छन् । भोजपुरको भोजपुर क्याम्पसमा दुईपटक स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियू० को सभापति भएका उनी ठाकुर गैरे र रामकुमारी झाँक्री अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० को अध्यक्ष हुँदा दुइपटक केन्द्रीय सदस्य भए । माधव ढुंगेल अनेरास्ववियुको अध्यक्ष हुँदा सचिवालय सदस्य भएका थिए ।
उनले आफू पनि लामो समयदेखि राजनीतिमा लागेको हुनाले जनताको दुःखसुख बुझेको बताएका छन् । ‘यसपटक भोजपुरवासीले मलाई मतदान गरेर सहयोग गर्नुहुुन्छ भन्ने लाग्छ, हिजोको पुरानो कुरा गरेर होइन कसले विकास निर्माणमा योगदान गर्न सक्छ त्यो बुझेर मतदान गर्नुपर्ने बेला भएको छ ’ उनले भने ‘कसैको पनि भ्रममा नपरी माटो चिन्हमा मतदान गर्न आग्रह गर्दछु, माटो रहेमात्रै देश रहन्छ भन्ने बुझ्नुपर्दछ ।’
उनी आफूलाई नेताभन्दा पनि श्रमदाता भन्न रुचाउँछ् । ‘म एउटा श्रमदाता हुँ, देश निर्माणको लाथि श्रम गर्ने मेरो लक्ष्य हो ’ उनी भन्छन् । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा १ सय ९ जना उम्मेदवारलाई प्रतिस्पर्धामा उतारेको छ ।