काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू जोसँग पनि ‘पब्लिक डिबेट’ गर्न तयार रहेको बताएका छन् ।
बुधवार पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले भने, ‘म त पब्लिक डिबेटको लागि तयारै छु, मैले डिबेट कहिलेदेखि गरेको छु, तपाईँहरूलाई थाहा छ ? २६ गते अन्तरिम सरकार बनाउने, २७ गते बन्यो । त्यसपछि यही ठाउँमा पहिलो सार्वजनिक रूपले म प्रस्तुत भएँ ।’
उनले जेन–जी आन्दोलनपछि पत्रकार र सम्पादक बोलाएर पहिलो बहस गर्ने नेता पनि आफै भएको दाबी गरेका छन् । प्रचण्डले भने, ‘देशव्यापी हिँड्ने काम पनि हामीले गर्यौँ । त्यस कारण म डिबेटमै छु । जोसँग पनि गर्न तयार छु ।’ पछिल्लो समय भावी प्रधानमन्त्री घोषित गरिएका नेताहरूबिच पब्लिक डिबेट चलाउनुपर्ने बहस राजनीतिक वृत्तमा चलिरहेको छ ।
सोही बहस चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू तयार रहेको बताएका थिए । ओलीले त्यसो भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीका रूपमा अघि सारिएका वरिष्ठ नेता बालेन्द्र साहले ओलीसँग बहस नगर्ने प्रतिक्रिया दिएका थिए ।
उनले भनेको शैली विवादित छ । जसविरुद्ध निर्वाचन आयोगले नै स्पष्टीकरण सोधेको छ ।