बिहिवार, आश्विन १५ गते २०८३

राष्ट्रिय जनमोर्चा पार्टी गर्यो चुनावी घोषणा पत्र सार्वजनिक

बुधवार , माघ १४, २०८२

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गर्ने दल जनमोर्चा पहिलो बनेको छ ।

बुधबार बुटवलमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष चित्रबहादुर केसी, कार्यवाहक अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष दुर्गा पौडेल र जनकराज शर्मा तथा महासचिव मनोज भट्टले घोषणा पत्र प्रस्तुत गरेका हुन् । घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले विगतका गल्ती आगामी चुनावमार्फत सच्याउनुपर्ने बताएका छन् । जनताले दलको घोषणा पत्र नहेरी हल्लाका भरमा भ्रष्ट र जनविरोधी व्यक्ति तथा पार्टीलाई जिताउँदा देश र जनताले दुःख पाएको केसीले बताए ।

उनले देशमा अहिले विदेशी चलखेल गम्भीर रुपमा बढेको औँल्याउँदै राष्ट्रियताको रक्षा गर्न, वर्तमान संविधानको रक्षा, भ्रष्टाचारको विरोध, शुशासन र संघीयता खारेजीका लागि राजमोका उम्मेदवारहरूलाई जिताउन अपील पनि गरे । महासचिव मनोज भट्टका अनुसार राजमोले सार्वजनिक गरेको घोषणा पत्र तीन खण्ड विभाजित छ । पहिलो खण्डमा अध्यक्ष केसीको अपील राखिएको छ, जहाँ पार्टीका उम्मेदवारहरूलाई किन र के का लागि मतदान गर्ने प्रष्ट्रकरण छ ।

यस्तै, दोस्रो खण्डमा जेनजी आन्दोलनपछिको देशको राजनीतिक अवस्थाबारे विश्लेषण छ । जनमोर्चाले कुशासन र भ्रष्टाचारका कारण भदौ २३ गतेको जेनजी आन्दोलन भएको विश्लेषण गर्दै आन्दोलनलाई विदेश शक्तिको आडमा हाइज्याक गरी देश जलाइएको आरोप लगाएको छ । यसलाई गम्भीर षडयन्त्रका रुपमा जनमोर्चाले औँल्याएको छ । तेस्रो खण्डमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित सवाललाई स्थान दिइएको छ ।

राजमोले कालापानीलगायत भारतद्वारा अतिक्रमित भूभाग फिर्ता हुनुपर्ने, अमेरिकी सहायता परियोजना एमसीसी खारेज गरिनुपर्ने, एसपीपी सम्झौता हुन नहुने माग गरेको छ । महासचिव भट्टका अनुसार विकास निर्माणबारे पनि घोषणा पत्रमा स्पष्ट खाका प्रस्तुत गरिएको छ ।

जनमोर्चाले यातायात क्षेत्रको समग्र विकास, लुम्बिनी पुरातात्विक सहर निर्माण, पहाडबाट तराई झर्ने क्रम रोक्न पहाडमै आधारभूत विकास निर्माण, यातायात दुर्घटना न्यूनीकरण लगायतका सवाल उठाएको छ ।

यस्तै, विदेशस्थित नेपालीलाई मताधिकारको व्यवस्था गर्न पनि घोषणा पत्रमार्फत जोडदार माग गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार