बिहिवार, आश्विन १५ गते २०८३

दाङ-२ का उम्मेदवार पोखरेलले सार्वजनिक गरे प्रतिबद्धता

बिहिवार , माघ १५, २०८२

काठमाडौँ । नेकपा (एमाले)का महासचिव तथा दाङ–२ का उम्मेदवार शंकर पोखरेलले आगामी निर्वाचनका लागि दाङको समग्र विकासलाई केन्द्रमा राख्दै आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन्।

दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने वाचा पूरा गरेको स्मरण गर्दै पोखरेलले आफू संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गर्दै दाङको पूर्वाधार विकासको आधार तयार गर्न भूमिका निर्वाह गरेको दाबी गरेका छन्।

उनले पानीमुनिको पुल भएको जिल्लाको पहिचान बदल्ने कामदेखि प्रमुख अस्पतालहरूलाई रिफर सेन्टरबाट विशेषज्ञ सेवा दिने स्तरसम्म पुर्‍याउन सहजीकरण गरेको पनि दाबी गरेका छन् ।

साथै, उच्च प्राविधिक शिक्षाको आधारशीला तयार गर्न र राजनीतिमा इमान्दार तथा स्वच्छ छविका रूपमा आफूलाई स्थापित गर्न सफल भएको उनको भनाइ छ।

पोखरेलले अवसर पाउँदा दाङवासीको गौरव बढाउने काम गरेको र पराजय व्यहोर्दा पनि जिल्लाको सेवामा निरन्तर समर्पित रहेको उल्लेख गर्दै अब राष्ट्रको नेतृत्वकारी भूमिकामा दाङलाई पुर्‍याउने समय आएको उल्लेख गरेका छन् ।

पोखरेलले सार्वजनिक गरेको प्रमुख एजेण्डाहरू

–लमही–घोराही–तुल्सीपुर फोरलेन सडक निर्माण सम्पन्न गर्ने

–३५० बिघा क्षेत्रफलको घोराही औद्योगिक क्षेत्र निर्माण गर्ने

–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत ४०० बेडको नयाँ अस्पताल भवन निर्माण गर्ने

–मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने

–त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रादेशिक इन्जिनियरिङ कलेज सञ्चालन गर्ने

–गुहारखोला हाइड्याम तथा नहर प्रणाली विकास गर्ने

–तुल्सीपुर विमानस्थल विस्तार गरी ७२ सिटे जहाज उडान–अवतरण योग्य बनाउने

–ग्रामीण सडक कालोपत्रे, शहरी क्षेत्रमा व्यवस्थित फुटपाथ निर्माण, सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने

–स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने

–कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्ने

–युवाका लागि विनाधितो सहुलियत ऋण, नयाँ लगानीकर्तालाई आयकर छुट तथा सिचाइ सुविधा विस्तार गर्ने

–घोराही–वंगलाचुली खानी क्षेत्र जाने सडक ढलान गर्ने

–प्रदेश राजधानीको गुरु योजना कार्यान्वयन गर्ने

–केन्द्रीय घोषणापत्रका प्रतिबद्धता पूरा गर्न नेतृत्वकारी भूमिका खेल्ने

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार