काठमाडौं । एमाले नेता तथा पार्टी उपाध्यक्ष बामदेव गौतमले नेकपा एमाले पार्टीबाट राजीनामा दिएका छन्। नेता गौतमले अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृति र शैलीका कारण आफूले एमालेबाट राजीनामा दिएको बताएका छन्। साथै ओलीको व्यक्तिवादी र स्वेच्छाचारी प्रवृत्ति बढ्दै गएपछि राजीनामा दिएको उनको राजीनामा पत्रमा उल्लेख छ ।
उनले ओली सुध्रिनुको साटो अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै गएको र आफ्ना समकक्षीहरुलाई समेत अवलम्बन नगरी गलत नीति र विचार अनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृति र शैली अंगालेको आरोप लगाएका छन्।
त्यतिमात्र नभई ओलीले सम्माननीय राष्ट्रपतिलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गरेको उल्लेख गरेका छन्।
नेता गौतमले आफै संलग्न भएर निर्माण भएको नेकपा एमालेमा ओलीकै गलत विचार, प्रवृति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकोले पार्टीको उपाध्यक्षको पद र पार्टीका सवै जिम्मेवारीबाट राजीनामा दिएको जनाएका छन्।