काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतगणना शनिबार साँझदेखि सुरु भएको छ ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतगणना शनिबार बेलुकी साढे ७ बजेदेखि सुरु भएको हो ।
यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूसँग छलफल गरेको थियो । छलफलपछि मतगणनाका लागि उम्मेदवारहरूकै रोहबरमा मतपेटिका खोलिएको थियो ।
निर्वाचन समिति सदस्यसचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्री पदको मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ ।
मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्नुका साथै मतगणनामा सहभागी हुने प्रतिनिधिहरूको नाम सङ्कलन गरेपछि गणना सुरु गरिएको हो ।
यसअघि शुक्रबार राति मतदान सकिएलगत्तै सभापति पदको मतगणना गरिएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई पराजित गर्नुभएको थियो ।
थापाले कुल मतको झण्डै ९४ प्रतिशत प्राप्त गर्नुभएको थियो । नवनिर्वाचित सभापति थापाले शनिबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै सभापति पदका प्रतिस्पर्धी खड्गीसहित आगामी मतगणनामा पराजित हुने सबै उम्मेदवारलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पार्टीभित्र धेरै जिम्मेवारी बहन गर्नुपर्ने भएकाले कोही पनि जिम्मेवारीबाट उम्कन नपाउने उल्लेख गर्दै उहाँले निर्वाचनको परिणामले क्षणिक रूपमा जित र हार देखाए पनि पार्टीप्रतिको जिम्मेवारी र भूमिकाका हिसाबले सबैको उत्तिकै महत्त्व हुने बताउनुभयो ।
वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसाललाई साथमा राखेर उहाँले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन सबैको भूमिका महत्त्वपूर्ण हुने विश्वाससमेत दिलाउनुभएको थियो ।