काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम-पूर्व मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताएका छन् । शुक्रबार रुकुम पूर्व-काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा चालेका कदमहरू केही शक्तिलाई मन नपरेको दाबी गरेका हुन् । प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध र सामाजिक विभेद अन्त्यका लागि निर्मम अभियान चलाएको बताएका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूसँग सन्तुलित सम्बन्ध बनाएर मुलुकको समृद्धि बढाउने प्रक्रिया अघि बढाइरहँदा त्यही अभियान मन नपराउने समूह सक्रिय भई सरकार ढलाएको बताए ।
उनले अधुरा रहेका ती सुशासन र समृद्धिका अभियान पूरा गर्नका लागि जनताको र कार्यकर्ताको दृढता आवश्यक पर्ने भएकाले आफू पुनः जनताको बीचमा जान लागेको बताएका छन् । आगामी निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बन्ने निर्णय लिनुको कारण खुलाउँदै प्रचण्डले यो केवल निर्वाचन क्षेत्र फेर्ने कुरा मात्र नभएको बताए । उनले रुकुम पूर्व जनयुद्धको केन्द्रीय आधार इलाका भएको र ऐतिहासिक चुनवाङ बैठकबाटै नेपालमा गणतन्त्रको शंखघोष गरिएको स्मरण गरे ।
चुनवाङ बैठकले नै महिला, दलित, जनजाति र उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाउने नीति पास गरेको भन्दै उनले पार्टी इतिहासको अविस्मरणीय ‘लाभाङ बैठक’ र हुकाम–मैकोटको प्रतिरोधको विरासतलाई सम्मान गर्न आफू त्यहाँ जान लागेको बताएका छन् । देश अहिले ‘जेनजी’ आन्दोलन र विभिन्न विध्वंसपछि जटिल मोडमा रहेकाले राष्ट्रलाई एकताबद्ध गर्न र आन्दोलनलाई नयाँ उचाइ दिन रुकुम पूर्व रोज्नुपरेको उनको भनाइ रहेको छ । प्रचण्डले आफू भोट माग्न र चुनाव जित्नका लागि मात्र रुकुम पूर्व जान नलागेको दाबी गरेका छन् ।
उनले रुकुम पूर्वमा विकास, उत्पादन र रोजगारीको नयाँ ‘मोडेल’ खडा गरेर त्यसलाई समाजवादको भ्रूणका रूपमा विकास गर्ने योजना सुनाए । उनले त्यहाँको जडीबुटी, पर्यटन, अर्ग्यानिक कृषि र आधुनिक भेडा पालनमार्फत हजारौँ युवालाई रोजगारी दिएर समाजवादको आधार तयार पार्ने आफ्नो सपना रहेको बताए । तेस्रो पटक प्रधानमन्त्री हुँदा आफूले जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरेको र पीडित परिवारलाई रोजगारी तथा आर्थिक परिपूरण दिने विधेयक तयार पारेको बताएका छन् ।
उक्त विधेयक कार्यान्वयनको सुरुवात आधार इलाकाबाटै गरेर सहिद र घाइतेहरूलाई उच्च सम्मान दिन आफू रुकुम जानुपर्ने बाध्यता रहेको बताए । प्रचण्डले आफ्नो जीवनको बाँकी समय राष्ट्र, सुशासन र समाजवादका निम्ति समर्पित गर्ने सङ्कल्प लिएको बताउँदै रुकुम पूर्वका जनताको भावना र विकासको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।