काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अरूले पार्टी रोज्दा आफूले भने जनता रोजेको बताएका छन् ।
मेयर हमालले सामाजिक सञ्जालमार्फत एउटा तस्वीर शेयर गर्दै लेखेका छन्, ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ ।’ २०७९ को बैशाखमा भएको स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर धनगढीको मेयर भएका हमाल अहिलेसम्म कुनै पनि पार्टीमा आवद्ध भएका छैनन् । उनीसँगै स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंका मेयर बनेका बालेन शाह रास्वपा प्रवेश गर्दै प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् ।
स्वतन्त्र उम्मेदवार भएर धरान उपमहानगरपालिकाको मेयर जितेका हर्क साम्पाङले श्रम संस्कृति पार्टी गठन गर्दै सुनसरी–१ बाट उम्मेदवारी दिएका छन् । दुवै जनाले मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभाको चुनावमा होमिएका बेला हमाल भने उपमहानगरपालिकाकै काममा व्यस्त रहेका छन् । स्थानीय चुनावमा नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै हमाल मेयरमा निर्वाचित भएका थिए ।
हमालले २६ हजार ८६५ मत प्राप्त ल्याएर विजयी हुँदा वडले १४ हजार ८१७ मत पाएका थिए भने तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याएका थिए ।