काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरेका छन्।
उनले हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरेका हुन। गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो।
गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेश बजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। सो अवसरमा गृहमन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिएका छन्।
साथै टोलीले सो क्षेत्रमा बाढी पहिरोबाट भएको क्षति तथा पहिरो प्रभावितको अवस्थाको बारेमा जानकारी लिएको थियो।गृहमन्त्रीसहितको सो टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी रहेका छन्।
सो टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत र हवाई अवलोकन गरेको जनाइएको छ।