काठमाडौं। सल्यानका स्थानीय तहका ६४ जना जनप्रतिनिधिले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सनाखत गरेका छन्। जिल्लाका १० स्थानीय तहका १४२ जनामध्ये एकैदिन ६४ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ।
निमित्त जिल्ला निर्वाचन अधिकारी तेजेन्द्र कुमार चन्दले बिहीबार एकजनाले र बाँकी ६३ जनाले शुक्रबार सनाखत गरेको जानकारी दिए।स्थानीय तहका प्रमुख एक, उपप्रमुख एक र १६ जना वडाअध्यक्षले सनाखत गरेको नेकपा नेकपा एस सल्यानका सचिव रमेश गौतमले बताए।
जिल्लाका स्थानीय तहमा निर्वाचित भएका अझै केही जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने सचिव गौतमले बताए। कार्यव्यस्तताले शुक्रबार आउन नसकेका जनप्रतिनिधिहरु भदौ २२ गतेभित्र निर्वाचन कार्यालयमा आएर सनाखत गर्ने उनको भनाइ छ।