काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी विभाजन गरेको छ। केही दिन अघि बसेको स्थायी समिति बैठकले सातमध्ये ६ प्रदेशको इन्चार्ज तोकेको छ।
यस्तै ६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ। त्यसैगरी उपत्यका विशेष प्रदेश कमिटी, प्रचार विभाग प्रमुख र प्रवास इन्चार्ज पनि तोकेको छ। पार्टीले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय दस्तावेज मस्यौदा समिति पनि गठन गरेको छ।
केन्द्रीय सचिवालयमा बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर,जयन्त राई र जीवनराम श्रेष्ठ छन्।त्यस्तै प्रदेश इन्चार्जहरुमा प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला तोकिएका छन्। सुदूरपश्चिम प्रदेश इन्चार्ज भने तोक्न बाँकी रहेको स्थायी समिति सदस्य डा. बेदुराम भुसालले जानकारी दिए।
नेकपा एसले उपत्यका विशेष प्रदेश कमिटीमा विश्वनाथ प्याकुरेल,सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ,मोर्चा इन्चार्जडा. विजय पौडेल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद साह तोकेको छ।
त्यस्तै दस्तावेज मस्यौदा समिति खनाल संयोजक र सदस्यहरुमा क्रमश: डा. बेदुराम भुसाल, प्रमेश हमाल,राजेन्द्र पाण्डे,गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला,जगन्नथ खतिवडा, केशवलाल श्रेष्ठ,सावित्रा भुसाल,रामकुमारी झाँक्री, राजेन्द्र राई, गणेश विक रहेका छन्।मस्यौदा समितिले छिटै आयोजना हुने राष्ट्रिय सम्मेलनमा पेस हुने दस्तावेजहरुको मस्यौदा तयार गर्नेछ। यो पार्टीको आइतबार केन्द्रीय सचिवालयको पहिलो बैठक बस्दैछ। बैठक दिउँसो ३ बजे बस्नेछ।