काठमाडौँ । बेलायती प्रहरीले सार्वजनिक पदमा रहँदा दूराचार गरेको आशंकामा पक्राउ परेका राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टब्याटन-विन्डसर सोधपुछपछि छुटेका छन्। लण्डनको पश्चिमी क्षेत्रहरू हेर्ने थेम्स भ्याली प्रहरीले पूर्वराजकुमार एन्ड्रयूलाई बिहीबार पक्राउ गरेको थियो।
उनलाई बिहीबार दिनभरि सोधपुछपछि छाडिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। प्रहरी कार्यालयबाट निस्कँदा एन्ड्रु कारभित्र भावुक र थकित देखिएको भनेर रोयटर्सले लेखेको छ।
सन् २०१० मा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने भनेर दोषी ठहरिएका यौन अपराधी जेफ्री एप्स्टिनलाई व्यापारिक प्रतिवेदनहरू पठाएको भन्ने उजुरीहरूको आधारमा एन्ड्र्यु पक्राउ परेका हुन्।
प्रहरीले सोधपुछ भइसकेको र उनीमाथि लागेको आरोपको मुल्यांकन र अनुसन्धानपछि उचित समयमा जानकारी गराउने जनाएको छ। एप्स्टिनका बारेमा अमेरिकामा भएको अनुसन्धानसँग सम्बन्धित लाखौँ पृष्ठका कागजातहरू सार्वजनिक भएको थियो।