काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको भेरिफाइड फेसबुक पेज बन्द भएको छ । लामिछानेको सचिवालयले अपिल जारी गर्दै पेज बन्द भएको जनाएको छ ।
सचिवालयले यसमा कुनै पनि अनधिकृत पोष्टहरु नआउने र आए आधिकारिक नहुने पनि स्पष्ट पारेको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेज्यूको आधिकारिक फेसबुक पेजमा आज बिहानैदेखि बाह्य व्यक्तिहरूले अनाधिकृत पहुँच बनाएर ह्याक गर्न पटकपटक प्रयास गरेको जानकारी गराउँदछौँ’ अपिलमा भनिएको छ ।
सचिवालयले पेजबाट कुनै पनि शंकास्पद पोस्ट, सन्देश वा लिङ्कहरू सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्न पनि आग्रह गरेको छ । सचिवालयले फेसबुकको सुरक्षा प्रक्रियाअनुसार पेज पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।
यस्तो प्रयासपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै फेसबुक पेज मेटाद्वारा ‘लक’ गरिएको सचिवालयले जनाएको छ । पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म र नियन्त्रणमा फिर्ता नआएसम्म यसबाट कुनै पनि नयाँ सामग्री पोस्ट नहुने बताइएको छ ।