काठमाडौं । संघीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी छन्।
यसपटक संघीय संसद्मा मा नेकपा (एमाले) विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी गरी दुई दल थपिने भएका छन्।
संसद्मा दुई दल थपिने तथा सत्तापक्ष र प्रतिपक्षको गणित पनि फेरिएको परिस्थितिमा संघीय संसद् सचिवालयले नयाँ दलसहितलाई समेटेर सिटको व्यवस्थापन मिलाइसकिएको जानकारी गराएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता दशरथ धमलाले थपिएका नयाँ दलको लागि पनि सिट व्यवस्थापन गरिसकिएको जानकारी दिए।
सबै दलका नेताहरु अगाडि रहनेगरी र अन्य सदस्यहरु क्रमश: पछाडि रहनेगरी दूरी कायम गरेर सिटको व्यवस्थापन मिलाइएको उनले बताए। प्रतिनिधिसभामा सभामुखको दायाँ साइडतर्फ सत्तापक्ष र बाँया साइडतर्फ प्रतिपक्ष रहनेगरी व्यवस्था मिलाइएको उनको भनाइ छ। सत्तापक्षतर्फ बीचबाट ठूलो दल र क्रमश: सदस्य संख्याको आधारमा साना दल रहने उनले उल्लेख गरे। यसो गर्दा सत्ता पक्षतर्फ दायाँ तर्फबाट क्रमश: नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहने छन्।
त्यसैगरी प्रतिपक्षतर्फ भने क्रमश: नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी रहनेगरी सिटको व्यवस्थापन मिलाइएको छ। स्वतन्त्र सांसद लगायत साना दलका सांसदहरुलाई भने बीचमा सिटको व्यवस्थापन गरिएको छ।
त्यसैगरी राष्ट्रिय सभातर्फ भने राष्ट्रिय सभा अध्यक्षको दायाँतर्फ सत्तापक्ष र बाँयातर्फ प्रतिपक्ष रहनेगरी व्यवस्था मिलाइएको छ। सत्तापक्षतर्फ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहने छन् भने प्रतिपक्षतर्फ नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी रहनेगरी व्यवस्था मिलाइएको उनले बताए।
मनोनीत सांसदहरु सदाझैँ मन्त्री रहने सिटभन्दा पछाडि रहने र स्वतन्त्र सांसद प्रमुख प्रतिपक्षीको दायातर्फ, सत्तापक्ष नेकपा (एकीकृत समाजवादी) भन्दा ठीक पछाडि रहने गरी व्यवस्थापन गरिएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। आज बैठकमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश पेस हुने उनले बताए।
त्यसको अलावा शोक प्रस्ताव तथा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको उनले जानकारी दिए।
आज प्रतिनिधि सभाको पहिलो बैठकमा नागरिकतासम्बन्धी अध्यादेश पेस हुने छ। गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता ९पहिलो संशोधन० अध्यादेश’ पेस गर्ने भएका हुन्। सरकारले दुई दर्जनभन्दा बढी अध्यादेश संसद्मा पेस गर्ने भएको छ। राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश पनि पेस हुने भएको छ।
यसैगरी, तेजाब तथा अन्य रासायनिक पदार्थ ९नियमन० अध्यादेश पनि बैठकमा पेस गरिने भएको छ। आर्थिक, राष्ट्र ऋण उठाउने लगायतका अध्यादेश पनि आजको बैठकमा प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ।