काठमाडौं । भारतको उडिसा राज्यस्थित भुवनेश्वरमा फागुन २८ गते देखि सञ्चालित ‘ग्रासरूट एण्ड फ्रुगल इनोभेसन इन इमर्जिङ इकोनोमीज’ शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलन भव्य रूपमा समुद्घाटन भएको छ ।
भारतको बिरला ग्लोबल युनिभर्सिटी र नेपालको मध्यपश्चिम विश्वविद्यालय, सुर्खेतको सहकार्यमा आयोजित तीनदिने यस सम्मेलनको उद्घाटन प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुब कुमार गौतमले गरे ।
उद्घाटन सत्रमा सम्मेलनका अध्यक्ष प्रा. डा. सुवेन्दु कुमार प्रतिहारि ले स्वागत मन्तव्य व्यक्त गर्दै सम्मेलनको उद्देश्य र विषयवस्तु प्रस्तुत गरे। उनले विकासशील अर्थतन्त्रहरूमा तल्लो तहबाट उत्पन्न हुने नवप्रवर्तन र सस्तो तथा व्यवहारिक नवप्रवर्तनको महत्वबारे प्रकाश पार्दै अनुसन्धान, उद्यमशीलता र स्थानीय ज्ञानको समन्वय आवश्यक रहेको बताए ।
कार्यक्रममा सिरक्युज युनिभर्सिटी (युएसए) अन्तर्गत ‘अर्ल भी. स्नेडर इनोभेसन म्यानेजमेन्ट सेन्टर’ का निर्देशक प्रो. एस. पी. राज ले सम्बोधन गर्दै विश्वव्यापी नवप्रवर्तनको वर्तमान प्रवृत्ति तथा विश्वविद्यालय–उद्योग सहकार्यको महत्वबारे चर्चा गरे ।
त्यस्तै स्क्याननेक्सट साइन्टिफिक टेक्नोलोजिज प्राइभेट लिमिटेडका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत श्री राजत वर्धन ले नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रका अनुभवहरू साझा गरेका थिए । उद्घाटन सत्रको प्रमुख आकर्षणका रूपमा आईआईएम अहेमदावादका प्रा. डा. आनन्द कुमार जैसवालले मुख्य वक्तव्य प्रस्तुत गरे ।
उदीयमान अर्थतन्त्रहरूमा स्थानीय स्रोत र ज्ञानमा आधारित नवप्रवर्तनले दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा उनले व्यक्त गरे ।
कार्यक्रममा विशेष अतिथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमले नेपाल र भारतबीचको शैक्षिक तथा अनुसन्धान सहकार्यलाई अझ सुदृढ बनाउन यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरू अत्यन्त महत्वपूर्ण हुने बताए ।
विशेष गरी ग्रासरुट नवप्रवर्तन, स्थानीय ज्ञान र उद्यमशीलता विकास का क्षेत्रमा संयुक्त अनुसन्धान र सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । त्यसैगरी बिरला ग्लोबल युनिभर्सिटीका उपकुलपति प्रा. डा. कुलभूषण बलूनी ले सम्मेलनले नवप्रवर्तन, उद्यमशीलता र अनुसन्धानका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।
उद्घाटन सत्रकै क्रममा मध्यपश्चिम विश्वविद्यालय, नेपाल र बिरला ग्लोबल युनिभर्सिटी, भारत बीच शैक्षिक तथा अनुसन्धान सहकार्य विस्तार गर्ने उद्देश्यले आपसी सम्झौतापत्रमा हस्ताक्षर समेत गरिएको थियो। । साथै सम्मेलन कार्यवृत्त सार्वजनिक गरिनुका साथै विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रम अन्तर्गत सहभागीहरूले विभिन्न अनुभव आदान–प्रदान सत्र, नवप्रवर्तनसम्बन्धी प्रस्तुति तथा छलफल कार्यक्रमहरूमा सहभागिता जनाएका थिए । सम्मेलनमा नेपाल, भारत लगायत विभिन्न देशका प्राध्यापक, अनुसन्धानकर्ता, उद्यमी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
पहिलो दिनको साँझ मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट देउडा सांस्कृतिक कार्यक्रम प्रस्तुतीकरण रहेको थियो र बिरला ग्लोबल युनिभर्सिटी, उडिसा भारतको तर्फबाट स्थानीय संस्कृति र शास्त्रीय नृत्य प्रस्तुतीकरण गरिएको थियो ।
तीन दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा नवप्रवर्तन, उद्यमशीलता, दिगो विकास तथा उदीयमान अर्थतन्त्रमा स्थानीय प्रविधिको प्रयोग जस्ता विषयहरूमा विभिन्न शैक्षिक सत्र, कार्यपत्र प्रस्तुति र छलफल कार्यक्रमहरू हुनेछन्। साथै मध्यपश्चिम विश्वविद्यालय र बिरला ग्लोबल युनिभर्सिटी, उडिसा भारत को संयुक्त आयोजनामा २०२६ अप्रिल २४–२६ मा अन्तर्राष्ट्रिय सम्मेलन सुर्खेतमा आयोजना हुनेछ।