काठमाडौं । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) विहिबारबाट सुरु हुँदैछ । परीक्षाको लागि सम्पूर्ण तयारी पुरा भएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार परीक्षामा पाँच लाख १२ हजार चार सय २१ जना सहभागी हँदैछन् । बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा दश) का अनुसार परीक्षामा दुई लाख ५७ हजार ६ सय १३ जना छात्रा र दुई लाख ५४ हजार आठ सय एक जना छात्र सहभागी हुँदैछन् ।
परीक्षाको लागि एक हजार नौ सय ६६ केन्द्र तोकिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । जसमध्ये नेपाली भाषाको पढाइ भइरहेको जापानको विद्यालयका लागि एउटा केन्द्र तोकिएको छ । उक्त केन्द्रबाट २३ जना परीक्षार्थी सहभागी हुँदैछन् ।
एसइई चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । जस अनुसार परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।
चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषयहरु र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुनेछ । चैत २७, २८ र २९ गते भने प्राविधिक धारका बाँकी विषयको परीक्षा सञ्चालन हुनेछ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार प्रश्नपत्र, उत्तपरपुस्तिका लगायतका सामग्री सम्बन्धित जिल्लामा पु¥याइसकिएको छ । जनशक्ति व्यवस्थापनको काम पनि सकिएको छ ।
अधिकारीका अनुसार परीक्षामा अनिवार्य विषयका प्रश्नपत्र प्रदेश अनुसार सात प्रकारका हुनेछन् । ऐच्छिक तर्फभने सबै भन्दा धेरै परीक्षार्थी सहभागी हुने गणित, लेखा, अर्थशास्त्र, कम्प्युटर विषयका लागि भने दुई थरि प्रश्नपत्र तयार पारिएको छ ।
पनिकाले उत्तरपुुस्तिका व्यवस्थापनको जिम्मेवारी सम्बन्धित प्रदेशलाई नै दिएको छ भने उत्तरपुस्तिका भने केन्द्रबाट छापेर पठाएको हो ।