आइतवार, श्रावण २४ गते २०८३

अमेरिका–इरान युद्धविरामको प्रभावः एसियाली सेयर बजारमा उत्साह

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । अमेरिका र इरानबीच दुई हप्ता लामो युद्धविरामको घोषणा भएसँगै विश्व बजारमा सकारात्मक तरंग देखिएको छ । मध्यपूर्वमा जारी सैन्य तनाव कम हुने र रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलडमरू पुनः सञ्चालनमा आउने खबरले बुधबार एसियाली सेयर बजारमा भारी वृद्धि भएको छ । 

तेलको मूल्यमा आएको गिरावट र युद्धको जोखिम कम हुँदा एसियाका प्रमुख सेयर सूचकहरूले पछिल्लो केही हप्ताकै उत्कृष्ट प्रदर्शन गरेका छन् । जापानको निक्केई २२५ सबैभन्दा ठूलो वृद्धि गर्दै ५.२८ प्रतिशत (२,८२२ अंक) ले बढेर ५६,१०६.१८ मा पुगेको छ ।

दक्षिण कोरियाको कोस्पी ५.९ प्रतिशतको बढोत्तरीका साथ ५,८१९.९७ अंकमा पुगेको छ । हङकङको ह्याङ सेङ ३.०४ प्रतिशतले सुधार हुँदै २५,७६७.४२ मा कारोबार भएको छ । विगत एक महिनादेखि ऊर्जा संकट र महँगीको डरले त्रसित लगानीकर्ताहरू युद्धविरामसँगै बजारमा फर्किएका छन् । 

 विशेषगरी इन्धनमा निर्भर रहेका एसियाली मुलुकहरूका लागि तेलको मूल्य प्रति ब्यारेल २० डलरसम्म घट्नुले राहत पुर्याएको छ । विश्लेषकहरूका अनुसार यो ’अस्थायी युद्धविराम’ दीर्घकालीन शान्ति सम्झौतामा परिणत भएमा विश्व अर्थतन्त्रमा थप स्थिरता आउनेछ । यद्यपि, दुई हप्ताको समयसीमा भएकाले बजारमा अझै केही ’पर्ख र हेर’ को स्थिति भने कायमै छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार