काठमाडौं । नेपाली कांग्रेस (बीपी) को विशेष महाधिवेशनमा विष्णुप्रसाद ढकाल सभापतिको उम्मेदवार बन्ने भएका छन् । उनले सबै नेता तथा कार्यकर्ताको समर्थन आफूलाई भएकाले सभापतिमा जित्ने दाबी गरेका छन् ।
पार्टीको विशेष महाधिवेशन भदौ ३०, ३१ र असोज १ गते काठमाडौंमा हुँदैछ। महाधिवेशनले सभापति, वरिष्ठ उप-सभापति, सचिव, सह-सचिव सहित २५ जनाको केन्द्रीय कार्यसमिति चयन गर्नेछ। सभापतिले ८० जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने पार्टीको विधान छ।
पार्टीको केन्द्रीय समिति १ सय ५ जनाको हुनेछ । पार्टीको केन्द्रीय सदस्य तथा अर्थ विभाग प्रमुख रहेका ढकालले आफ्ना एजेण्डा अघि सारिसकेका छन् । उनले पार्टीलाई गतिशील बनाउने, भ्रष्टाचारविरुद्ध अभियान चलाउने, संघीयता र धर्म निरपेक्षता खारेजी गर्ने, हिन्दु राष्ट्र र राजसंस्था स्थापित गर्ने प्रमुख एजेण्डा बनाएका छन् ।
उनले आगामी संसदीय निर्वाचनमा १० देखि १५ सिटमा संसदमा पार्टीको प्रतिनिधित्व रहने गरी योजना बनाउने पनि बताएका छन् । ‘जति कुरा मैले भनेको छु, ती काम गर्न सक्छु भन्ने मलाई विश्वास छ’ उनले भने ‘म लामो समयदेखि राजनीति गरेको मान्छे भएकाले पार्टीको नीति कसरी बनाउनुपर्छ र जनता परिचालन कसरी गर्नुपर्छ भन्ने जान्दछु ।’ उनले पार्टीलाई परिवारबादबाट मुक्त बनाउने जनाएका छन् ।
२०४६ सालबाट कांग्रेसको राजनीतिमा लागेर सक्रिय रहेका उनले कांग्रेसले आफ्नो नीति र सिद्धान्त छोडेकाले कांग्रेस भएर बाँच्न नसकिने अवस्था आएकाले बाध्यताले नयाँ पार्टी खोल्नुपरेको स्पष्ट पारेका छन् ।
उनी यही ढंगले कांग्रेस अघि बढने हो भने उसले कहिल्यै प्रगति गर्न नसक्ने दाबी गर्छन् । उनी काभ्रेस्थली गाउँ कार्यसमितिको ५ कार्यकालसम्म सभापति भएका थिए । एक कार्यकाल कांग्रेसको महासमिति सदस्य पनि भएका उनले पार्टी विस्तारमा पनि निकै योगदान गरेका छन् ।
उनले आफूले सभापतिको उम्मेदवारी दिएपछि नेता तथा कार्यकर्ताहरु पनि उत्साहित भएको बताएका छन् । ‘मेरो उम्मेदवारीप्रति सबैले राम्रो सोच बनाउनुभएको छ त्यसैले पनि मलाई जित्छु भन्ने लागिरहेको छ’ उनले भने ‘अरु पनि केही सभापति उठ्ने भन्दै हुनुहुन्छ तर उहाँहरुभन्दा म नै ग्राउण्डमा बलियो छु ।’
उनले आफू सभापति भइसकेपछि जनताको गास, बास र कपासको व्यवस्थापनको लागि पहल गर्ने जनाएका छन् । भ्रष्टाचार, अनियमितता र अत्याचारको विरुद्धमा देशव्यापी रुपमा आन्दोलन गर्ने उनको योजना छ ।
उनले पार्टीलाई गतिशील बनाउन र सबैको आस्थाको केन्द्र बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । ‘एकपटक पार्टीलाई हाँक्ने मन छ, त्यो अवसर पाएँ भने म पार्टीलाई उदाहरणीय बनाउने छु’ उनी भन्छन् ।