काठमाडौं । मुलुकको आर्थिक विकासका लागि स्पष्ट कानूनी व्यवस्था आवश्यक रहेको नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले बताएका छन् ।
चेम्बरको ७५ औं वर्षगाँठ (हिरक जयन्ती) का अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मल्होत्राले आर्थिक विकासका लागि स्पष्ट कानूनी व्यवस्था, पर्याप्त पूर्वाधार, सहज वित्तीय पहुँच तथा दक्ष जनशक्तिको विकास अनिवार्य रहेको बताए ।
नयाँ पुस्तालाई उद्यमशीलतातर्फ आकर्षित गर्न स्टार्टअप संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउँदै उनले प्रविधिमा आधारित व्यवसाय प्रवर्धनका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताए ।
परम्परागत सोच र कार्यशैलीमा सिमित रहँदा आर्थिक प्रगति सम्भव नहुने उल्लेख गर्दै उनले समयअनुकूल नवप्रवर्तन, डिजिटल रूपान्तरण र दिगो विकासतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।