आइतवार, आश्विन २५ गते २०८३

उपेन्द्रले ठिक्क पारे मन्त्री बन्नेको सूची, को-को हुँदै छन् मन्त्री?

शनिवार , भाद्र २६, २०७८

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गरेका छन्। अध्यक्ष यादवनिकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिमण्डल बिस्तार गरे पहिलो चरणमा दुईजनाको मात्रै नाम दिने सोच उनले बनाएका छन्।

दोस्रो चरणमा चारजनाको नाम दिने भएका छन्। देउवाले एकै चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने भए भने एकैपटक ६ जनाको नाम दिने तयारी भएको स्रोतले बतायो। पहिलो चरणमा विवाद नहुने गरी दुई नेताको नाम सिफारिस गर्ने तयारी भएको यादवनिकट स्रोतले बतायो। पहिलो चरणमा महेन्द्र यादव र राजेन्द्र श्रेष्ठको नाम सिफारिस गर्ने सम्भावना छ।

स्रोतका अनुसार अध्यक्ष यादवले पर्साका दुई सांसद रामसहाय यादव र प्रदीप यादवमध्ये एकजनाको नाम सिफारिस गर्ने सोच बनाएका छन्। रामसहाय र प्रदीप यादव अहिलेसम्म सरकारमा गएका छैनन्।

रामसहाय पूर्वसमाजवादीका महासचिव पनि हुन्। लुम्बिनी प्रदेशबाट यादवले इस्तिायक राई र अमृता अग्रहरीमध्ये एकजनाको नाम सिफारिस गर्ने सोच बनाएका छन्। ‘लुम्बिनी प्रदेशबाट दुईमध्ये एक या दुवै समेटिने सम्भावना छ,’ स्रोतले भन्यो।

अध्यक्ष यादव आफैं पनि सरकारमा जाने सम्भावना रहेको स्रोतले बतायो। स्रोतका अनुसार प्रधानमन्त्री देउवाले जसपालाई उपप्रधानमन्त्री र परराष्ट्र या अरू कुनै महत्त्वपूर्ण मन्त्रालय दिन तयार भए उनी आफैं सरकामरा जाने भएका छन्। तर उपप्रधानमन्त्री नपाइएको अवस्थामा भने उनी आफू सरकारमा नजाने भएका छन्। 

यादव सरकारमा गएनन् भने सप्तरीकी सांसद रेणु यादवलाई सरकारमा पठाउने सम्भावना रहेको स्रोतले बतायो। यसपटक यादवले महिलाका तर्फबाट रेणु यादव र अमृता अग्रहरीमध्ये एकजनालाई सरकारमा पठाउने सोच बनाएका छन्।

केपी ओली नेतृत्व सरकारमा सहभागी भएका सांसदलाई यसपटक सरकारमा नपठाउने नीति बनाएको जसापाका अर्का एक कार्यकारिणी सदस्यले बताए। यो नीति कार्यान्वयन भए राजकिशोर यादव र रेणुका गुरुङ यसपटक सरकारमा जान पाउनेछैनन्।

यो समाचार आजको नागरिक दैनिकमा छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार